शुक्रबार ‘घामड शेरे’ नआउने, किन सर्‍यो ?



अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘घामड शेरे’ को प्रदर्शन मितिमा फेरबदल भएको छ । मल्टीप्लेक्सहरुले अपेक्षाभन्दा कम सोज बाँडेका कारण रिलिजको दुई दिन अगाडि चलचित्रको प्रदर्शन मिति पोस्टपोन्ड भएको हो । चलचित्र शुक्रबार प्रदर्शन नहुने वितरक प्रचण्डमान श्रेष्ठले बताए ।

पोखरामा रहेका वितरक श्रेष्ठले फोनमा कुराकानी गर्दै भने, ‘मल्टीप्लेक्समा चलचित्रले जति सोज पाउँछ भन्ने हाम्रो अपेक्षा थियो त्योभन्दा अत्यन्त कम पाएपछि शुक्रबार चलचित्र प्रदर्शन नगर्ने निर्णयमा पुगेका हौं । अब, चलचित्र दुई हप्तापछि प्रदर्शनमा आउनेछ ।’ उनले अब चलचित्र कात्तिक २२ गते प्रदर्शन हुने बताए ।


‘घामड शेरे’ ले मल्टीप्लेक्समा कम सोज पाउनुको कारण बलिउड चलचित्र ‘हाउसफुल ४’ हो । यो चलचित्रलाई नेपालका अधिकांश मल्टीप्लेक्स हलहरुले उच्च सोज प्रदान गरेका छन् । जसले गर्दा ‘घामड शेरे’ र शुक्रबारबाट प्रदर्शनमा आउन लागेको अर्को नेपाली चलचित्र ‘पोइ पर्‍यो काले’ ले मल्टीप्लेक्सहरुमा पर्याप्त सोज पाउन सकेनन् ।

कम सोजमा प्रदर्शन गर्दा लगानी उठाउन गाह्रो हुने भन्दै ‘घामड शेरे’ टिमले घोषित मितिमा चलचित्र ल्याउन नसकेको जानकारी प्राप्त छ । हेमराज विसी निर्देशित चलचित्रमा निश्चल र स्वस्तिमा भेना र सालीको भूमिकामा छन् । यो चलचित्र सरेपछि अब शिशिर राणा निर्देशित ‘पोइ पर्‍यो काले’ लाई गजबकै फाइदा हुने देखिएको छ ।

बुधबार दिउँसो मल्टीप्लेक्सहरुले शुक्रबारबाट प्रदर्शनमा आउन लागेका दुई नेपाली र दुई बलिउड चलचित्रको अग्रिम बुकिङ खुल्ला गरेका थिए । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले राजधानीभित्र ‘घामड शेरे’ लाई ५ सोज र ‘पोइ पर्‍यो काले’ लाई ४ सोज बाँडेको थियो । ‘घामड शेरे’ शुक्रबार नआउने भएपछि मल्टीप्लेक्सहरुले चलचित्रको सोज हटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu