कात्तिक १५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता द्वय सुशील श्रेष्ठ र आमिर गौतम स्टारर चलचित्र बादशाह जुटको कार्टुन पोस्टर सार्वजनिक भएको छ । जसमा सुशील र आमिरलाई उतारिएको छ । सम्भवतः नेपाली चलचित्रको इतिहासमा पहिलो पटक चलचित्रको कार्टुन पोस्टर सार्वजनिक गरिएको हो ।
आफूलाई बादशाह सम्झने दुई युवकको कथामा चलचित्र आधारित छ । सार्वजनिक कार्टुन पोस्टरले पनि यसलाई प्रस्ट्याउँछ । चलचित्रमा सुशीलले पत्रकार र आमिरले हवल्दारको भूमिका निभाएका छन् । जोनी सिंह राणाले चलचित्रको निर्देशन गरेका हुन् । एक्सन र कमेडी जनरा चलचित्र निर्माण भएको हो ।

चलचित्रमा केइसा रावत, रोषी खड्का, रोविन तामाङ, रश्मी पाण्डे, दीपक क्षेत्री, कमलमणि नेपाललगायतका कलाकारको पनि अभिनय छ । भने, प्रियंका कार्कीले एक गीतमा ठुम्का लगाएकी छन् । चलचित्रलाई राजु काकीले खिचेका हुन् । गीतसंगीत र ट्रेलरले राम्रो हाइप निर्माण गरेका कारण चलचित्रले बक्सअफिसमा राम्रो व्यापार गर्ने विश्वास निर्माण टिमलाई छ ।
अभिषेक शशि कुमारको पटकथा रहेको चलचित्रमा राजकुमार उप्रेतीले एक्सन, दिर्घ खड्काले सम्पादन र कृष्ण भारद्वाज, कोशिश क्षेत्री, मोहित मुनालले संगीत भरेका छन् । हर्क बहादुर कुँवर (पिटर) र भोजराज श्रेष्ठ (मिक्की) ले लगानी गरेको चलचित्र एच एण्ड बी फिल्मस् र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्टको व्यानरमा निर्माण गरिएको हो ।




