यस वर्षको प्रतिक्षीत चलचित्रमध्ये एक ‘पोइ पर्यो काले’ शक्रुबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको छ । तिहारलाई लक्षित गरेर प्रदर्शनमा आएको चलचित्रलाई शिशिर राणाले निर्देशन गरेका हुन् । शिशिर राणा निर्देशित चलचित्रले रुप कालो भए पनि मन गोरो हुनुपर्छ भन्ने सन्देश दिने बताइएको छ । चलचित्रले मल्टीप्लेक्समा बलिउड चलचित्र ‘हाउसफुल ४’ का कारण कम सोज पाए पनि सिंगल थिएटर पर्याप्य पाएको छ ।

बुधबारसम्म अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का अभिनीत चलचित्र ‘घामड शेरे’ पनि शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा थियो । तर, ‘हाउसफुल ४’ का कारण मल्टीप्लेक्सहरुमा अत्यन्त न्यून सोज पाएपछि चलचित्र दुई हप्ता (कात्तिक २२) पछाडि सर्यो । यो चलचित्र नआउँदा ‘पोइ पर्यो काले’ लाई दर्शक र हल बाँडिने चिन्ता केही हदसम्म कम भए पनि ‘हाउसफुल ४’ को डर भने कायमै छ ।
चलचित्रमा आकाश श्रेष्ठ, पूजा शर्मा, सौगात मल्ल, श्रृष्टि श्रेष्ठसँगै सुरक्षा पन्त, किरण नेपाली, राजाराम पौडेल, गोपाल ढकाललगायत कलाकारले अभिनय गरेका छन् । दीपक मनाङे र सरोज नेपालीको निर्माण रहेको चलचित्रमा अर्जुन पोखरेल, लालबहादुर खाती र पुरुषोतम न्यौपानेको संगीत, कविराज गहतराज र कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ।




