कात्तिक २२ गतेबाट देशव्यापी प्रदर्शनमा आउने निश्चित भएको अभिनेत्री सुमी मोक्तान अभिनीत चलचित्र ‘सरौतो’ एक साता पछाडि धकेलिएको छ । ‘घामड शेरे’ हुत्तिएर कात्तिक २२ मा पुगेपछि यो चलचित्रले घोषित मिति छाड्न बाध्य भएको हो । एकै मितिमा धेरै फिल्म रिलिज हुने भएपछि यो ‘सरौतो’ ले कात्तिक २९ गतेलाई नयाँ प्रदर्शन मिति घोषणा गरेको छ । तर, यो मितिमा पनि चलचित्रले सोलो रिलिज भने पाउने छैन ।
अब, बक्सअफिसमा ‘सरौतो’ को भिडन्त दुई नेपाली चलचित्र ‘माछा माछा’ र ‘मिस्टर नेपाली’ सँग हुनेछ । चलचित्रको रिलिज एकहप्ता पछाडि धकेलिनुको कारणबारे जानकारी दिँदै निर्देशक हर हुमागाईंले भने, ‘हामीले घोषणा गरेको मितिमा एकसाथ धेरै चलचित्र हुने भएपछि र ‘घामड शेरे’ को रिलिज फेरबदलका कारण ‘सरौतो’ को रिलिज हेरफेर गरेका हौं ।’ यो चलचित्रको गीत र ट्रेलर सार्वजनिक भइसकेको छ ।

चलचित्रमा सुमीका अलावा विजय लामा, सन्नी सिंह, लियो ट्यांक, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, मनिषा पुन मगरलगायतको पनि अभिनय छ । बिराञ्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्ममा राघव कृष्ण गौतमको लेखन छ । निर्देशक हुमागाईंले यो चलचित्रबाट निर्देशनमा डेब्यू गरेका हुन् ।
उत्तम हुमागाईंको छायांकन, निमेष श्रेष्ठको सम्पादन र शंकर महर्जनको एक्सन रहेको चलचित्रमा राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत रहेको छ । ‘सरौतो’ आफ्नो ड्रिम प्रोजेक्ट बताउने अभिनेत्री सुमी फिल्मका लागि एक्सन सिक्न निकै मेहनत गरेको बताउँछन् । चलचित्रका लागि उनले गरेको मेहनत ट्रेलरमा पनि देख्न सकिन्छ । बदलाको कथामा निर्माण भएको चलचित्र दर्शकमाझ प्रतिक्षीत छ ।




