‘रामकहानी’, ‘सम्हालिन्छ कहिले मन’ र शुक्रबारबाट प्रदर्शनमा आएको ‘पोइ पर्यो काले’ पछि अभिनेत्री पूजा शर्मा र अभिनेता आकाश श्रेष्ठको जोडीलाई चौथो पटक पनि पर्दामा देख्न पाइने भएको छ । ‘सम्झना बिर्सना’ मा दुईको जोडी बाँधिएको छ । शुक्रबार रजधानीस्थित भद्रकाली मन्दिरमा यो चलचित्रको शुभ मुहूर्त गरिएको छ । तिहारपछि चलचित्रको छायांकन सुरु हुनेछ ।

दार्जीलिङ, सिक्किम र नेपालमा खिचिने चलचित्रलाई निमेष प्रधानले निर्देशन गर्नेछन् । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने चलचित्रमा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ । तिहारपछि छायांकन सुरु हुने चलचित्रलाई शिव ढकालले खिच्नेछन् । प्रेमकथामा बन्ने यो चलचित्रलाई लिएर पूजा र आकाश उत्साहित छन् ।

चलचित्रको मुहूर्त समारोहमा अभिनेत्री पूजाले ‘सम्झना बिर्सना’ को कथावस्तु मन परेर काम गर्न राजी भएको बताइन् । चौथो पटक आकाशसँग काम गर्न पाउँदा खुसी महशुस भएको उनको भनाई छ । अभिनेता आकाश पनि बलियो कथाका कारण चलचित्र गर्न लागेको बताए । उनी चलचित्र राम्रो बन्नेमा विश्वस्त देखिएका छन् । आदित्य फिल्मस्को व्यानरमा यो चलचित्र निर्माण हुन लागेको हो ।




