अभिनेता आर्यन अधिकारीको प्रमुख भूमिका रहेको चलचित्र ‘जस्मिन’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । शंकर कार्की निर्देशित चलचित्रको पोस्टरमा अभिनेता अधिकारी फिचर्ड छन् । भने, अभिनेत्री अशिष्मा नकर्मीलाई पियानो बजाउँदै गरेको अवस्थामा चित्रण गरिएको छ । तर, उनको अनुहार देखाइएको छैन । चलचित्र सांगीतिक प्रेमकथामा बनेको पोस्टरले प्रस्ट्याउँछ ।
चलचित्रमा आर्यन र अशिष्माका अलावा के.के अधिकारी, सेविका प्याकुरेल, रुपा राना, अभय बराल, नविन लम्साल, एलिशा शर्मा, विशाल पहाडी, कृष्ण खनाल र बालकलाकार श्रवणी थापाले अभिनय गरेका छन् । सेविकाले यही चलचित्रबाट अभिनयमा डेब्यू गर्दैछिन् । एउटा संघर्षरत संगीतप्रेमीको जर्नीमा चलचित्र आधारित रहेको बताइएको छ ।

यसअघि ‘रोमियो’ नामक चलचित्र निर्देशन गरिसकेका निर्देशक कार्की भन्छन्, ‘संगीतप्रेमीको जर्नी, एक अन्जान पात्रको निस्वार्थ सहयोग, साथीहरुको सम्बन्ध, पारिवारिक समस्या, समाजमा देखिने र सुनिने गम्भीर कुरालाई चलचित्रले आत्मसात् गरेको छ ।’ रिलिज डेट नतोकिएको चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर नछाडेको निर्देशक कार्कीको दाबी छ ।
मेनका फिल्मस प्रालिको व्यानरमा निर्माण भएको चलचित्रमा किरण घिमिरे (माइकल) को लेखन, अष्ट महर्जनको द्वन्द्व, मित्र डि. गुरुङको सम्पादन र कोशिश क्षेत्री/कल्याण सिंह/एलिश कार्की/किरण घिमिरेको संगीत छ । चलचित्रको ७५ प्रतिशत छायांकन नेपालमा सकिएको छ । बाँकी २५ प्रतिशत चलचित्र सुसन प्रजापतिले चाइनामा खिच्नेछन् ।




