शुक्रबारबाट दोस्रो सातामा प्रदर्शन थालेको मल्टीस्टारर चलचित्र ‘पोइ पर्यो काले’ ले एक हप्तामा ३ करोडको आँकडा पार गरेको छ । काठमाडौं उपत्यकाभित्रका वितरक करण श्रेष्ठ ‘क्रेजी’ ले चलचित्रले एक हप्तामा काठमाडौंभित्र १ करोड ९५ लाखको व्यापार गरेको बताएका छन् । त्यस्तै, उपत्यका बाहिरका वितरक रोहित कट्टेलले चलचित्रको एक हप्ते कमाई १ करोड १० लाख रहेको दाबी गरेका छन् ।

वितरकको दाबीलाई सत्य मान्ने हो भने चलचित्रले एक हप्तामा देशभर ३ करोड ५ लाख छापेको छ । वितरक रोहितले दोस्रो हप्ता पनि चलचित्रको हल संख्यामा घटबढ नभएको बताए । उनी पहिलो हप्ताको तुलानामा चलचित्रको व्यापारमा गिरावट आउने भएता पनि कमजोर नहुने विश्वास व्यक्त गरे । अर्का वितरक श्रेष्ठले पनि चलचित्र हेर्ने दर्शकको संख्यामा वृद्धि भइरहेको बताए ।
शिशिर राणा निर्देशित चलचित्रमा पूजा शर्मा, सौगात मल्ल, आकाश श्रेष्ठ, श्रृष्टि श्रेष्ठको प्रमुख भूमिका छ । दीपक मनाङे र सरोज नेपालीको निर्माण रहेको चलचित्रमा अर्जुन पोखरेल, लालबहादुर खाती र पुरुषोतम न्यौपानेको संगीत, कविराज गहतराज र कमल राईको कोरियोग्राफी, शिव ढकालको छायांकन र तारा थापा ‘किम्भे’ को सम्पादन रहेको छ ।




