अभिनेता सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’ पूर्वघोषित मिति अर्थात् कात्तिक २९ गतेबाट प्रदर्शनमा नआउने भएको छ । निर्माण टिमले अब यो चलचित्रलाई आउँदो मंसिर २० गते प्रदर्शन गर्ने निधो गरेको छ । चलचित्रले घोषित मितिबाट हात झिक्नुको कारण हेमराज विसी निर्देशित चलचित्र ‘घामड शेरे’ लाई मानिएको छ ।
कात्तिक २२ मा रिलिज हुने यो चलचित्रले दोस्रो हप्ता पनि हल कब्जा गर्ने देखेपछि निर्माण टिमले ‘माछा माछा’ को प्रदर्शन मिति तीन हप्ता पछाडि सारेको हो । यो चलचित्रको रिलिज डेट पोन्डपोन्ड भएपछि कात्तिक २९ मा रिलिज हुन लागेको भूवन केसी अभिनीत चलचित्र ‘मिस्टर नेपाली’ लाई राहत मिलेको छ । त्यस्तै, चलचित्रले सोलो रिलिजको अवसर पाएको छ ।

सौगातसँगै ‘माछा माछा’ मा विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, नम्रता श्रेष्ठ, सरिता गिरी, भोलाराज सापकोटा, कमलमणी नेपाललगायतका कलाकारहरुको अभिनय छ । चलचित्रका लेखक तथा निर्देशक सुनिल गुरुङ हुन् । चलचित्रलाई रामबाबु गुरुङ र दयाहाङ राईले निर्माण गरेका हुन् । शिवराम श्रेष्ठले चलचित्र खिचेका हुन् ।
सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित ‘माछा माछा’ को सह-निर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । चलचित्रमा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविन सिंहको कोरियोग्राफी छ । ‘माछा माछा’ मा अभिनेत्री सृष्टि श्रेष्ठको विशेष भूमिका छिन् । यो चलचित्रको ट्रेलर सार्वजनिक भइसकेको छ ।




