चलचित्र ‘मिस्टर नेपाली’ यही शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । चलचित्रमा अभिनेता भुवन केसीले दोहोरो भूमिका निभाएका छन् । उनले निभाएको एउटा चरित्र नकारात्मक छ । देव भुषाल निर्देशित यो चलचित्रबाट दुई कलाकारले फिल्म क्षेत्रमा पाइला राख्दैछन् ।
नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् । तर, चलचित्रमा भुवनको अभिनय रहेका कारण उनीहरुको पर्याप्त चर्चा हुन सकेको छैन । यद्यपि, चलचित्रको कथा भने दुईको वरिपरि घुमेको निर्माण टिमले बताएको छ । नयाँ कलाकारलाई डेब्यू चलचित्र हिट हुन आवश्यक हुन्छ ।

साहिल र कुसुम पनि यो चलचित्रबाट दर्शकमाझ चिनिनेमा विश्वस्त छन् । चलचित्रमा साहिलले अमेरिकाबाट फर्किएको एक युवकको भूमिका निभाएका छन् । चलचित्रमा भुवनसँग उनको टकराव देख्न पाइनेछ । ‘मिस्टर नेपाली’ सफल भएको खण्डमा साहिल र कुसुमको आगामी यात्रा सहज हुनेमा दुईमत छैन ।
चलचित्रले विदेशमा रहेपनि नेपाली मन फेरिँदैन भन्ने कथालाई उठान गरेको छ । राष्ट्रियताको कथाको साथमा कमेडी, प्रेम समेत समावेश भएकाले दर्शकका लागि एउटा पूर्ण प्याकेज चलचित्र भएको निर्देशक भुषाल बताउँछन् । प्रेमराज दाहालले चलचित्रको निर्माण गरेका हुन् ।




