
काठमाडौं – नेपाली रजतपटका ‘एक्सन किङ’ बिराज भट्टको मुख्य भूमिका रहेको चलचित्र ‘राम नाम सत्य: पर्दा भित्रको पर्दा’ को टिजर सार्वजनिक भएको छ। एक्सन, थ्रिल, सस्पेन्स र रोमान्सको भरपुर सम्मिश्रण रहेको यस टिजरले दर्शकमाझ फिल्मप्रतिको कौतुहलतालाई थप उचाइमा पुर्याएको छ। विशेष गरी, टिजरमा प्रस्तुत गरिएको बिराज भट्टको ‘एङ्ग्री’ र यसअघि कहिल्यै नदेखिएको रौद्र रूपले आगामी चैत २७ गते बक्स अफिसमा ठुलै हलचल ल्याउने सङ्केत गरेको छ।
माइकल चन्दको निर्देशनमा तयार भएको यस चलचित्रमा बिराजका अलावा सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, आयुष सिंह ठकुरी, सुनिल थापा, प्रशान्त ताम्राकार र खुसी कार्की जस्ता चर्चित कलाकारहरूको सशक्त उपस्थिति रहेको छ। भर्खरै सार्वजनिक टिजरमा यी सबै कलाकारहरूको झलकलाई निकै आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ। चलचित्रको कथा तथा पटकथा स्वयम् निर्देशक चन्दले नै तयार पारेका हुन् भने अभिमन्यू निरवी र समय थपलियाले स्क्रिप्ट सल्लाहकारको भूमिका निर्वाह गरेका छन्।
माइकल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस प्रोजेक्टमा उपेन्द्र शाही र स्वेता विमलीको लगानी रहेको छ। चलचित्रका कार्यकारी निर्मातामा किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार छन् भने क्रिएटिभ प्रोड्युसरमा मोती कार्की तथा लाइन प्रोड्युसरमा राजेन्द्र आचार्य रहेका छन्। प्राविधिक पक्षतर्फ हेर्दा, मानकृष्ण महर्जनको छायाङ्कन, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादन र कला चरणको ब्याकग्राउन्ड स्कोर रहेको छ। यसको उत्कृष्ट टिजर र ट्रेलर सम्पादनको जिम्मा भने साहिल खानले सम्हालेका हुन्। यसका साथै, चलचित्रमा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवा अन्सारीको सुमधुर सङ्गीत सुन्न सकिन्छ।
चलचित्र प्रदर्शनमा आउनु अगावै यसमा समावेश ‘धागोले बाटेको’ बोलको गीतले दर्शक-श्रोताको अपार माया पाएर सुपरहिट भइसकेको छ। गीतले बनाएको साङ्गीतिक माहौल र अहिले सार्वजनिक भएको एक्सन-प्याक्ड टिजरले गर्दा ‘राम नाम सत्य’ ले दर्शकको आक्रामक साथ पाउने र ठुलो व्यावसायिक सफलता हासिल गर्ने विश्वास निर्माण पक्षले लिएको छ।
टिजरः


