चलचित्र ‘लालिमा’को अग्रिम टिकट बिक्री सुरु



काठमाडौं – निर्वाचनको चटारोले केही सुस्त बनेको नेपाली चलचित्र उद्योग फेरि पुरानै लयमा फर्किन थालेको छ। नयाँ चलचित्र निर्माणको घोषणा, छायाङ्कन र प्रचारप्रसारका गतिविधिले तीव्रता पाइरहँदा सिनेमा घरहरूमा पनि नयाँ फिल्म प्रदर्शनको चहलपहल सुरु भएको छ। यही उत्साहजनक माहौलका बीच भोलि (शुक्रवार) बाट चलचित्र ‘लालिमा’ दर्शकमाझ आउँदैछ।

करिब तीन हजार यौनकर्मी महिलाहरूको वास्तविक भोगाइलाई आधार बनाएर निर्माण गरिएको यस चलचित्रले गम्भीर विषयवस्तु उठान गरेको छ। एउटी बोल्न नसक्ने आमा अप्रत्याशित घटनामा परी कारागार पुगेपछि उनलाई त्यहाँबाट मुक्त गर्न उनकी छोरीले गर्नुपरेको निरन्तर सङ्घर्ष नै ‘लालिमा’को मूल कथावस्तु हो। यस सिनेमामा मुख्य चरित्र अर्थात् यौनकर्मीको भूमिकामा अभिनेत्री रोशनी कार्की प्रस्तुत भएकी छन्। आफ्नो चरित्रलाई पर्दामा जीवन्त बनाउन उनले छायाङ्कन अगावै दश जना यौनकर्मी महिलालाई प्रत्यक्ष भेटेर उनीहरूको भोगाइ र मनोविज्ञान बुझ्ने प्रयास समेत गरेकी थिइन्।

सिनेमाको प्रदर्शन मिति नजिकिएसँगै बुधवारबाटै अग्रिम टिकट बुकिङ खुल्ला गरिएको छ। डिजिटल पेमेन्ट एप ‘खल्ती’को तथ्याङ्क अनुसार यस चलचित्रले रिलिजको पहिलो दिनका लागि देशभरबाट ५४ वटा शो प्राप्त गरेको छ। यद्यपि, केही हलहरूले बुकिङ खुलाउन बाँकी नै रहेकाले शो सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। अब निर्माण पक्षका लागि प्राप्त यी शोहरूलाई उल्लेख्य दर्शकको उपस्थिति (अकुपेन्सी) मा रूपान्तरण गर्नु नै प्रमुख व्यावसायिक चुनौती हुनेछ।

रोशन मिराजको लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा रोशनीका अलावा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक, सुष्मा निरौला, सबिन कट्टेल र घनश्याम जोशी लगायतका कलाकारहरूको सशक्त अभिनय रहेको छ। फेथ आस्था र एम्पिफाई चेन्जको संयुक्त ब्यानरमा निर्माण भएको यस सिनेमाकी कार्यकारी निर्माता रीना लामा हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu