
काठमाडौं – अभिनेत्री प्रियङ्का कार्की र अभिनेता आयुष्मान जोशीको निर्माण कम्पनी ‘आयंका फिल्म्स’को पछिल्लो प्रस्तुति सर्ट फिल्म ‘टाख’ले यति बेला दर्शकको मन जितिरहेको छ। १४ मिनेट ४४ सेकेन्ड लामो यस लघु चलचित्रले छोटो समयमै ४ लाखभन्दा बढी भ्युज पाउनुका साथै दर्शक तथा समीक्षकबाट उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको छ।
पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको कष्टकर सामाजिक परिवेशलाई यस चलचित्रले कलात्मक रूपमा पर्दामा उतारेको छ। विशेषगरी, विकट क्षेत्रमा नदी वारपार गर्न स्थानीयले प्रयोग गर्नुपर्ने ‘तुइन’को जोखिमपूर्ण र कहालीलाग्दो यथार्थलाई ‘टाख’ले जीवन्त रूपमा प्रस्तुत गरेको छ। यसै सर्ट फिल्ममार्फत मुख्य अभिनेत्री प्रियङ्का कार्कीले आफ्नो अभिनयमा रहेको विविधतालाई फेरि एक पटक प्रमाणित गरेकी छन्। गाउँले परिवेशको चरित्रमा डुबेर उनले गरेको स्वाभाविक अभिनयको यति बेला सर्वत्र मुक्तकण्ठले प्रशंसा भइरहेको छ।
साम्तेन भुटियाको आफ्नै कथा लेखन तथा निर्देशनमा तयार भएको यस चलचित्रमा प्रियङ्काका साथमा रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी र रेणुनाथ योगीले पर्दामा साथ दिएका छन्। प्रियङ्का र आयुष्मानकै लगानी रहेको यस चलचित्रले उनीहरूको ब्यानरको साखलाई थप उचाइमा पुर्याएको छ। यसअघि पनि आयंका फिल्म्सले दर्शकहरूको लागि ‘जस्ट अनदर लभ स्टोरी’ र ‘वसन्त’ जस्ता रुचाइएका सिरिज तथा सर्ट मुभीहरू निर्माण गरिसकेको छ।
सर्ट फिल्म र सिरिज निर्माणमा सफलता हात पारिसकेको यो जोडी अब भने ठुलो पर्दाको चलचित्र निर्माणमा होमिने तयारीमा छ। विगत केही वर्षदेखि नै फिचर फिल्म निर्माणको गृहकार्य गरिरहेका प्रियङ्का र आयुष्मानले छिट्टै नै आयंका फिल्म्सकै ब्यानरमा नयाँ पूर्ण चलचित्र दर्शकमाझ ल्याउने योजना अघि बढाएका छन्।


