चलचित्र ‘लालपूर्जा’ बाट डेब्यू गरेकी अभिनेत्री मिरुना मगरको अभिनय र सुन्दरताको निकै चर्चा हुने गर्दछ । तर, दुर्भाग्यको कुरा के छ भने, उनी अभिनीत कुनै चलचित्रले बक्सअफिसमा नाफाको व्यापार गर्न सकेका छैनन् । अभिनेता सौगात मल्लदेखि युवास्टार प्रदीप खड्कासँग काम गरिसके पनि उनी सफलताबाट विमुख छिन् । यद्यपि, प्रदीपसँग रोमान्स गरेको चलचित्र ‘रोज’ डिजास्टर साबित भए पनि मिरुनालाई दर्शकको ठूलो वर्गमा चिनायो ।
उनको पछिल्लो रिलिज चलचित्र ‘साइनो’ हो । यो चलचित्रले पनि बक्सअफिसमा घुँडा टेकेको थियो । लगातार चलचित्र असफल हुँदा उनलाई ‘अनलक्की नायिका’ भन्न थालिएको छ । तर, उनी चलचित्र असफल हुनुमा कलाकारको दोष नहुने तर्क राख्छिन् । उनी भन्छिन्, ‘चलचित्र फ्लप हुनुमा मेरो के दोष ? मेरो काम भनेको कसरी हुन्छ राम्रो अभिनय गर्नु हो । कलाकारका कारणले चलचित्र फ्लप हुने भन्ने हुँदैन ।’

चलचित्र हिट बनाउने भार कलाकारलाई दिनु र लिनु नहुने उनको तर्क छ । ‘तपाईंलाई प्रोडक्सन टिमले अप्रोच गर्दा चलचित्र हिट बनाउँछ भनेर होइन, क्यारेक्टरलाई न्याय गर्न सक्छ भनेर लिएको हुन्छ । चलचित्र हिट बनायो भने राम्रो कलाकार, बनाएन भने नराम्रो कलाकार भन्ने हुँदैन’, उनले भनिन् । मिरुनालाई लाग्छ कलाकारको काम चलचित्र हिट बनाउनु होइन, चरित्रमा डुबेर राम्रो अभिनय गर्नु हो ।
अभिनेत्री मिरुनाले अभिनय गरेका चलचित्रले गतिलो व्यापार मात्र होइन, दर्शक र समीक्षकको पनि मन जित्न सकेका छैनन् । चलचित्र कसरी नराम्रो बन्छ ? चलचित्र राम्रो बन्ने वा नबन्ने भन्ने कुरा स्क्रिप्ट र टीममा निर्भर रहने उनको कथन छ । आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘च च हुई’ को पखाईमा रहेकी उनी स्क्रिप्ट र टिम राम्रो भएको खण्डमा चलचित्र पनि राम्रो बन्ने बताउँछिन् ।
चाँडै अभिनेता दयाहाङ राईसँग चलचित्र ‘जारी’ मा काम गर्न लागेकी उनले ‘च च हुई’ लाई लिएर आफू उत्साहित रहेको बताइन् । यो चलचित्रमा उनले अभिनेता आर्यन सिग्देलसँग रोमान्स गरेकी छन् । उनी आर्यनबाट आफूले धेरै कुरा सिक्न पाएको बताउँछिन् । आर्यनको तारिफ गर्दै उनले भनिन्, ‘उहाँ कलाकार मात्र होइन ‘ह्युमन विइङ’ पनि राम्रो हुनुहुन्छ । उहाँको ‘सेन्स अफ ह्यूमर’ एकदमै राम्रो छ ।’




