
काठमाडौं – नेपाली चलचित्र ‘राम नाम सत्य’ प्रदर्शन अगावै साङ्गीतिक रूपमा चर्चाको शिखरमा उक्लिरहेको छ। यसअघि सार्वजनिक भएको ‘धागोले बाटेको’ बोलको गीतले युट्युबमा ४० लाखभन्दा बढी दर्शकको माया पाइरहँदा निर्माण पक्षले आज अर्को रोमान्टिक ट्र्याक ‘हुम्लाको लिमी’ दर्शकमाझ पस्केको छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत रिलिज गरिएको यस नयाँ गीतले पनि अघिल्लो गीतकै जस्तो सफलता चुम्ने अपेक्षा निर्माण युनिटले राखेको छ।
दैलेखका रमणीय दृश्यहरूमा छायाङ्कन गरिएको यस गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता बिराज भट्ट र नव–नायिका खुसी कार्कीले आकर्षक नृत्य पस्किएका छन्। सियोन श्रेष्ठको उत्कृष्ट कोरियोग्राफी रहेको यो गीतमा एसडी योगी र गीताञ्जली थापा मगरको सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्दहरू मौसम अर्यालले कोरेका हुन् भने सङ्गीत संयोजन पनि एसडी योगी स्वयंले गरेका छन्। भिडियोमा बिराज र खुसीको अनस्क्रिन रोमान्सलाई निकै आकर्षक रूपमा प्रस्तुत गरिएको छ।
माइकल चन्दको कथा, पटकथा तथा निर्देशनमा तयार भइरहेको यो चलचित्रलाई माइकल इन्टरटेन्मेन्ट हाउसले प्रस्तुत गरेको हो। चलचित्रमा उपेन्द्र शाही र श्वेता बिमलीको लगानी रहेको छ भने कार्यकारी निर्माताको जिम्मेवारी किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनारले सम्हालेका छन्। त्यसै गरी, मोती कार्की क्रियटिभ प्रोड्युसर र राजेन्द्र आचार्य लाइन प्रोड्युसरका रूपमा आबद्ध छन्। चलचित्रको साङ्गीतिक पक्षलाई बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र ओम स्पार्कले सङ्गीतबद्ध गरेका छन्।
एक्सन, प्रेम कथा, पारिवारिक कथावस्तु र सस्पेन्सको मिश्रण रहेको यस चलचित्रमा बिराज भट्ट र खुसी कार्कीका अलावा सुनिल थापा, सुशील श्रेष्ठ, प्रशान्त ताम्राकार, सुपुष्पा भट्ट, दिव्या रायमाझी र आयुष सिंह ठकुरी जस्ता चर्चित तथा नवोदित कलाकारहरूको बलियो उपस्थिति रहेको छ। हालै सार्वजनिक चलचित्रको टिजरले समेत सामाजिक सञ्जालमा व्यापक प्रशंसा बटुलिरहेको छ। गीतसङ्गीत र टिजरले निर्माण गरेको बलियो हाइप हेर्दा ‘राम नाम सत्य’ले बक्स अफिसमा दर्शकको मन जित्दै उत्कृष्ट व्यापार गर्ने विश्वास गरिएको छ।


