
काठमाडौं – चर्चित अभिनेता राजेश हमालको तस्बिर र नामको दुरुपयोग गर्दै अछामको एक स्थानीय तहमा लाखौँ रुपैयाँ हिनामिना भएको तथ्य बाहिर आएको छ। नक्कली चलचित्र निर्माणको बहाना बनाएर राज्यको ढुकुटी दोहन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा चार जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
आयोगको आरोप पत्र अनुसार, अछामस्थित ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह र लेखापाल विमल साउदलाई यस प्रकरणमा मुख्य प्रतिवादी बनाइएको छ। त्यसै गरी, आर.जे. ट्वान्टी फोर न्युज तथा नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष रामजी लम्साल (रामबहादुर लम्साल) विरुद्ध पनि मुद्दा दायर गरिएको छ। उनीहरूले अभिनेता हमालकै व्यक्तिगत निर्देशन र संलग्नतामा चलचित्र निर्माण हुने भ्रामक प्रचार गर्दै गाउँपालिकाबाट १५ लाख रुपैयाँ बजेट विनियोजन गराएका थिए।
विनियोजित उक्त रकममध्ये १२ लाख ७७ हजार २ सय ५० रुपैयाँ गैर कानुनी रूपमा भुक्तानी गरी भ्रष्टाचार गरिएको अख्तियारको ठहर छ। यस कार्यमा संलग्न पदाधिकारी तथा व्यक्तिहरूले सार्वजनिक खरिद ऐन र नियमावलीका कानुनी प्रावधानहरूको गम्भीर उल्लङ्घन गर्दै मिलेमतोमा रकम हिनामिना गरेको आयोगले स्पष्ट पारेको छ। नक्कली परियोजनाको आवरणमा प्रख्यात व्यक्तिको नाम जोडेर गरिएको यो आर्थिक अनियमितताले स्थानीय तहमा हुने स्रोतसाधन दुरुपयोगको गम्भीर अवस्थालाई चित्रण गरेको छ।
Press-Release-२०८२-१२-०५-प्रकाश-बहादुर-साउदसमेत


