
काठमाडौं – राजेन्द्र बस्नेतको निर्देशनमा तयार भइरहेको नेपाली कथानक चलचित्र ‘कार्की साइँला’को सम्पूर्ण छायाङ्कन कार्य सम्पन्न भएको छ। निर्माण पक्षले सुटिङका लागि एक महिना लामो कार्य तालिका तय गरेको भए पनि कलाकार तथा प्राविधिक टोलीको निरन्तर मेहनत र समर्पणका कारण मात्र २१ दिनमै क्यामेरा अफ गरिएको हो।
पूर्वी नेपालको धनकुटाबाट सुरु गरिएको यस चलचित्रको छायाङ्कन सुनसरीको चतरा, बराह क्षेत्र र त्यस वरपरका रमणीय स्थलहरूमा गरिएको निर्देशक बस्नेतले जानकारी दिएका छन्। समय अगावै काम सकिनुमा सम्पूर्ण टिमको अथाह परिश्रम मुख्य कारण रहेको उनको भनाइ छ।
यस चलचित्रमार्फत दर्शकले लोकप्रिय अभिनेता जितु नेपाल र अभिनेत्री प्रियना आचार्य (मुन्नी) को फ्रेस जोडीलाई सिल्भर स्क्रिनमा देख्न पाउनेछन्। यी दुईले पहिलो पटक चलचित्रमा सहकार्य गरेका हुन्। यसअघि अभिनेत्री आचार्यले ‘झरीपछिको इन्द्रेणी’ नामक चलचित्रमा आफ्नो अभिनय कला पस्किसकेकी छन्। जितु र प्रियनाका अलावा चलचित्रमा सुशील पोखरेल, वीरेन्द्र सिंह कुशवहा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बु, रोदा राई र कमल देवकोटा लगायतका कलाकारहरूको अभिनय रहनेछ।


