ट्रेलर सार्वजनिक भएपछि चर्चामा रहेको दीपेन्द्र के. खनाल निर्देशित यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘आमा’ को अष्ट्रेलिया र अमेरिकाको राइट्स निर्माण टिमले महँगोमा बिक्री गरेको छ । निर्देशक खनालले नेपालमा प्रदर्शन भएको दिन नै अष्ट्रेलिया र अमेरिकामा पनि ‘आमा’ एकसाथ प्रदर्शन हुने जानकारी दिए ।

अन्य देशमा पनि चलचित्र प्रदर्शनका लागि कुराकानी भैरहेको उनले बताए । उनी ट्रेलर सार्वजनिक भएपछि विदेशमा चलचित्रको माग चुलिएको बताउँछन् । यो चलचित्रकी निर्मात्री शर्मिला पाण्डे हुन् । आमा र छोरीबीचको भावनात्मक सम्बन्धको कथा भन्ने चलचित्रले गहन विषय उठाएको ट्रेलरबाट अनुमान गर्न सकिन्छ ।
सुरक्षा पन्त र मिथिला शर्माको प्रमुख भूमिका रहेको चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको पनि अभिनय छ । चलचित्रको गीत भुपेन्द्र खड्काले लेखेका हुन् । काठमाण्डौ र रामेछापमा खिचिएको चलचित्रका सह-निर्मातामा सन्तोष अधिकारी छन् । यो चलचित्र फागुन ९ गतेबाट एकसाथ प्रदर्शनमा आउँदैछ ।




