‘नाईं नभन्नू ल ६’ मा पनि अनुभवको जोडी सेड्रिना



नेपाली चलचित्रमा अहिलसम्मकै धेरै सिक्वेल बनेको ‘नाईं नभन्नू ल’ को छैठौं सिरिज निर्माण हुने भएको छ । चैतबाट छायांकन सुरु हुने चलचित्रका लागि अहिले निर्देशक विकासराज आचार्य कलाकार छनोटमा लागेका छन् । चलचित्रमा दोस्रो पटक अनुभव रेग्मी र सेड्रिना शर्माको जोडी बाँधिएको छ । यसअघि उनीहरुले यही चलचित्रको पाँचौ श्रृंखलामा सँगै काम गरेका थिए ।

चलचित्र ‘नाईं नभन्नू ल’ को दोस्रो श्रृंखलाबाट अनुभव छुटेका छैनन् । उनी बिना यो चलचित्रको सिरिज अधुरो मानिन्छ । त्यस्तै, सेड्रिनाले ‘नाईं नभन्नू ल ५’ मा लोभलाग्दो काम देखाएकी थिइन् । हाल भारतमा बसेर अध्ययन गरिरहेकी उनले दोस्रो चलचित्र पनि आफूलाई ‘स्टार’ बनाएको ‘नाईं नभन्नू ल’ कै छैठौं सिरिज रोजेकी छन् । उनलाई पर्दामा हेर्न दर्शकहरु प्रतिक्षा गरिरहेका छन् ।

चलचित्र ‘नाईं नभन्नू ल ६’ को कथा निर्देशक विकासराज आचार्य र सामिप्यराज तिमल्सिनाले मिलेर लेखिरहेका छन् । चलचित्रको दुई सेड्युलमा छायांकन हुने लेखक सामिप्यले बताए । उनले भने, ‘सेड्रिनाका कारण चलचित्रको दुई सेड्युलमा छायांकन हुनेछ । उनी जेठमा पढाइ सकेर नेपाल आएपछि दोस्रो चरणको छायांकन हुनेछ । त्योभन्दा अगाडि अरु कलाकारको सिन खिचिनेछ ।’

‘नाईं नभन्नू ल ६’ मा अभिनेता सलोन बस्नेतको पनि अभिनय रहेको जानकारी प्राप्त छ । तर, दोस्रो पार्टदेखि यथावत रहेकी अभिनेत्री प्रियंका कार्की भने छैठौं सिरिजमा हुने सम्भावना न्यून रहेको बुझिएको छ । यसपटक चलचित्रमा तीन अभिनेत्री र एक अभिनेता हुनेछन् । तीनमध्ये एक अभिनेत्री भने नयाँ हुने निर्देशक आचार्यले बताए । अभिनेता पनि नयाँ खोज्ने उनको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu