‘पार्वती’को रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक, पुरुष भेषमा नाचिन् दीपाश्री निरौला



आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक गरिएको छ। निर्माण पक्षले शुक्रबार ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत उक्त गीत दर्शकमाझ ल्याएको हो। विवाहको माहोलमा महिलाहरूले खेल्ने परम्परागत रत्यौलीलाई यस गीतको भिडियोमा निकै रमाइलो र आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ।

सार्वजनिक भिडियोमा चलचित्रका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी र क्रिमसन श्रेष्ठ छमछमी नाचेका छन्। यस भिडियोको प्रमुख आकर्षण निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला बनेकी छन्, जसले पुरुषको भेषभूषा धारण गरेर नृत्य गरेकी छन्। महिलाकै पहिरनमा सजिएकी नीता ढुङ्गाना र पुरुष बनेकी दीपाश्रीबीचको रमाइलो प्रस्तुतिले भिडियोलाई थप मनोरञ्जनात्मक बनाएको छ। भिडियोको उत्कृष्ट कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।

हर्क साउदको शब्द रचना रहेको यस गीतमा पछिल्लो समयका चर्चित संगीतकार दीपक शर्माले सङ्गीत भरेका छन्। गीतमा गायिका त्रय रचना रिमाल, सरु गौतम र सहिमा श्रेष्ठको सुमधुर स्वर सुन्न सकिन्छ। निकै सुन्दर भाका र शब्दहरूले सजिएको यस गीतको सङ्गीत संयोजन, मिक्सिङ तथा मास्टरिङको काम नरेन्द्र वियोगीले गरेका हुन्।

अभिनेत्री नीता ढुङ्गानाकै कथा तथा निर्देशनमा निर्माण भएको यस चलचित्रमा उनी आफैँ मुख्य भूमिकामा प्रस्तुत भएकी छन्। नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली र आशा पौडेललगायतका कलाकारहरूको बलियो अभिनय चलचित्रमा रहेको छ। चलचित्रको कथा र पटकथा नीता स्वयंले तयार पारेकी हुन् भने यसको स्क्रिप्ट लेखन शिवम् अधिकारीले गरेका हुन्।

हरिहर अधिकारी निर्माता रहेको यस चलचित्रमा शंकर पाण्डे कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजरको रूपमा जोडिएका छन्। सुदीप बरालको छायांकन रहेको ‘पार्वती’ को सम्पादन तथा टिजर-ट्रेलर तयार पार्ने जिम्मा साहिल खानले पाएका छन्। रोयल भीमसेनको पोस्टर डिजाइन रहेको यस सिनेमाको डिजिटल अधिकार ओएसआर डिजिटलले खरिद गरेको छ। निर्माण कार्य सम्पन्न भइसकेको यस चलचित्रलाई एफडी कम्पनी, एप्पल इन्टरटेनमेन्ट र रिच इन्टरटेनमेन्टले देशभरका सिनेमाघरहरूमा वितरण गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu