‘बुलबुल’ र ‘भूठान’ निर्माता अविरल थापा नयाँ प्रेमकथाका लागि नायिकाको खोजीमा, १२ वर्षपछि निर्देशनमा फर्किँदै रामराजा दाहाल



सफल चलचित्रहरू ‘बुलबुल’ र ‘भूठान’ का निर्माता अविरल थापाले आफ्नो आगामी रोमान्टिक चलचित्रका लागि नयाँ नायिकाको खोजी सुरु गरेका छन्। निर्माण कम्पनीको आधिकारिक पेजमार्फत एक पोस्ट सेयर गर्दै उनले नयाँ अनुहारका लागि औपचारिक रूपमा आवेदन आह्वान गरेका हुन्। स्मरण रहोस्, थापाकै निर्माण रहेको ‘बुलबुल’ मार्फत अभिनेत्री स्वस्तिमा खड्काले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड जित्दै आफूलाई चलचित्र उद्योगमा बलियो रूपमा स्थापित गरेकी थिइन्। त्यसैगरी, उनको हालैको अर्को चलचित्र ‘भूठान’ बाट वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र समीक्षक समाजद्वारा प्रदान गरिने ‘उत्कृष्ट अभिनेता’ को गरिमामय अवार्ड हात पारेका थिए। आफ्ना अघिल्ला प्रोजेक्टहरूबाट उत्कृष्ट प्रतिभा निखार्न सफल निर्माता थापाले यस नयाँ चलचित्रबाट छानिने नायिका भविष्यको सुपरस्टार बन्ने बलियो आत्मविश्वास व्यक्त गरेका छन्।

१२ वर्षपछि निर्देशक रामराजा दाहालको कमब्याक

यस नयाँ प्रेमकथामा आधारित चलचित्रको निर्देशन रामराजा दाहालले गर्ने पक्का भएको छ। हाल अस्कर इन्टरनेसनल कलेज अफ फिल्म स्टडिजका प्रिन्सिपल रहेका दाहाल करिब १२ वर्षको लामो अन्तरालपछि पुनः निर्देशनमा फर्कन लागेका हुन्। उनले विगतमा ‘वशमा छैन मेरो मन’, ‘कसम हजुरको’, ‘गुरु दक्षिणा’ र ‘नेपथ्य’ जस्ता चर्चित चलचित्रहरूको निर्देशन गरिसकेका छन्। निर्माता थापाका अनुसार, यस चलचित्रले नेपाली सिनेमामा अहिलेसम्म कहिल्यै नदेखिएको नितान्त फरक र गहिरो प्रेमकथा पस्कनेछ। यसले दर्शकहरूलाई मन्त्रमुग्ध बनाउँदै विगतको मीठो सम्झनामा फर्काउने दाबी निर्माण पक्षले गरेको छ।

आवेदन प्रक्रिया, मापदण्ड र छायाङ्कन योजना

चलचित्रको मुख्य भूमिकाका लागि निर्माण पक्षले २२ देखि २७ वर्ष उमेर समूहभित्रकी युवतीको खोजी गरिरहेको छ। निर्माता थापाले खोजेकी नायिकामा दमदार अभिनय क्षमता हुनुका साथै हेर्दैमा ‘स्टार भाइब्स’ आउने आकर्षक लुक्स हुनुपर्ने प्रमुख मापदण्ड तोकिएको छ। इच्छुक उम्मेदवारहरूले आवेदन दिनका लागि कम्पनीको पोस्टमा उपलब्ध गराइएको क्युआर कोड स्क्यान गरी सोझै वेबसाइट वा फारममा पुग्न सक्नेछन्। अनलाइन फारम भर्दा आवेदकले विभिन्न साइजका आफ्ना तस्बिरहरू, आफ्नो काम वा कला झल्किने एक मिनेटको छोटो भिडियो र विस्तृत बायोडाटा अनिवार्य रूपमा अपलोड गर्नुपर्ने व्यवस्था मिलाइएको छ।

प्राप्त जानकारीअनुसार, आवेदन बुझाउने अन्तिम मिति आगामी जुलाई १६ अर्थात् २०८३ सालको असार मसान्तसम्म तोकिएको छ। फारम भरेका उम्मेदवारहरूमध्येबाट छनोटमा परेकाहरूको साउन महिनाभित्र अडिसन लिइनेछ र उत्कृष्टलाई वर्कसपमा सहभागी गराइनेछ। सम्पूर्ण पूर्वतयारी र कलाकार छनोटको काम पूरा गरेर आउँदो दसैँलगत्तै चलचित्रको छायाङ्कन सुरु गर्ने लक्ष्य निर्माण टोलीले राखेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu