
काठमाडौं – गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यम थापा निर्देशित नेपाली चलचित्र ‘लालीबजार’ले सफलताका साथ प्रदर्शनको ५१औँ दिन पूरा गरेको छ। षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रले आज शनिबार देशका प्रमुख सिनेमाघरहरूमा ५१औँ दिनको ऐतिहासिक सफलता मनाइरहेको हो। निर्माण पक्षका अनुसार, चलचित्रले क्युएफएक्स चेनअन्तर्गतका भक्तपुर, सिभिल मल र सिटी स्क्वायरका साथै कमलपोखरीको बिग मुभिज, सुन्धाराको सिडिसी सिनेमाज, सीतापाइलाको सिके सिनेमाज, न्युरोडको रञ्जना सिनेप्लेक्स, बुटवल र इलामको फ्रेन्ड्स सिनेमाज तथा नेपालगञ्जको सिने रोयलमा आफ्नो ५१औँ दिन पूरा गरेको छ।
यस वर्ष वि.सं. २०८३ मा हालसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरूमध्ये व्यावसायिक रूपमा सर्वाधिक सफल मानिएको ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा ९ करोड रुपैयाँभन्दा बढीको सानदार ग्रस कलेक्सन गरिसकेको छ। चलचित्रको व्यापारिक यात्रा अहिले १० करोड क्लबतर्फ उन्मुख रहेको छ। चलचित्रले पाएको यस अपार सफलतालाई दर्शकसँगै साट्न कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराईसहितको निर्माण टोली शनिबार दिनभर विभिन्न हलहरूमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ। दर्शकबाट प्राप्त अपार मायालाई शब्दमा व्यक्त गर्न नसकिने बताउँदै भट्टराईले षट्कोण आर्ट्सका अघिल्ला चलचित्रहरूजस्तै यसपटक पनि दर्शकले दिएको साथप्रति विशेष आभार प्रकट गरेका छन्।
स्वदेशमा ऐतिहासिक ५१औँ दिन पूरा गरेसँगै ‘लालीबजार’ को डायस्पोरा प्रदर्शन पनि औपचारिक रूपमा सुरु भएको छ। कार्यकारी निर्माता भट्टराईका अनुसार, अहिले युरोपका विभिन्न देशहरूमा चलचित्रको प्रदर्शन धमाधम भइरहेको छ भने क्रमशः जापान, अस्ट्रेलिया र अमेरिकामा पनि यसलाई दर्शकमाझ पुर्याउने तयारी अगाडि बढाइएको छ। चाँडै नै विदेशी बजारका अन्य देशहरूको प्रदर्शन मिति र विस्तृत जानकारी सार्वजनिक गरिने निर्माण टोलीले स्पष्ट पारेको छ।
‘टल्कजंग भर्सेस टुल्के’, ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल चलचित्र निर्माण गरिसकेको षट्कोण आर्ट्सको यस नयाँ प्रस्तुतिमा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी र वीरबल चौधरीलगायतका थुप्रै कलाकारहरूको सशक्त अभिनय रहेको छ। यसै चलचित्रमार्फत रङ्गमञ्चमा सक्रिय कलाकार विशाल देवकोटा र जेन–जी पुस्ताकी अभिनेत्री प्रशंसा सुवेदीले रजतपटमा डेब्यु गरेका छन्। चलचित्रको पटकथा तथा संवाद निर्देशक यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन् भने यस प्रोजेक्टमा म्याक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माताको रूपमा रहेका छन्।


