‘छ माया छपक्कै’ जस्तो ब्लकबस्टर चलचित्र दिएका निर्देशक दीपेन्द्र लामाको नयाँ चलचित्र ‘२ नम्बरी’ मा अभिनेता द्वय दयाहाङ राई र पल शाहसँग अभिनेत्री वर्षा राउतले रोमान्स गर्ने भएकी छन् । माघ अन्तिम साताबाट छायांकन सुरु हुने चलचित्रको सोमवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरियो । दुई साथीको कथामा बन्ने चलचित्रको कथा निर्देशक लामाकै हो ।

अर्को वर्ष (२०७७) को जनै पूर्णिमाका लागि प्रदर्शन मिति घोषणा गरिएको चलचित्रमा बुद्धि तामाङको पनि प्रमुख भूमिका रहनेछ । ‘पोइ पर्यो काले’ निर्माण कम्पनी रेड वर्ड प्रोडक्सन र आरआएर फिल्म प्रोडक्सनको ब्यानरमा रोहित कट्टेल र सरोज नेपाली निर्माताको रुपमा रहने चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली छन् । रत्न श्रेष्ठ चलचित्रको कार्यकारी निर्माताको रुपमा छन् ।
निर्देशक लामाले दुई मिल्ने साथीको कथामा चलचित्र बन्ने बताए । ‘दुई नम्बरी भनेपछि हामीले कालो धन्दाको रुपमा बुझ्छौं । कालो कारोबारको प्रशंग पनि चलचित्रमा जोडेका छौं । सामान्य रुपमा हामीले दुई नम्बरी भनेको जे बुझ्छौं त्योभन्दा केही फरक फरक डाइमेन्सन जोड्ने प्रयास गरेका छौं,’ उनी सुनिए । उनले चलचित्रको कन्सेप्ट आफू गाउँमा गएको बेला दिमागमा फुरेको बताए ।
‘२ नम्बरी’ मा दयाहाङ र वर्षासँग निर्देशक लामाको दोस्रो पटक सहकार्य भएको हो । उनले डेब्यू चलचित्र ‘घामपानी’ मा दयाहाङ र दोस्रो चलचित्र ‘गोपी’ मा वर्षासँग काम गरेका थिए । पलसँग भने निर्देशक लामाको पहिलो सहकार्य हो । उनले पलसँग काम गर्नका लागि उत्साहित रहेको बताए । अभिनेता दयाहाङले कथा र आफ्नो चरित्र मन परेर चलचित्रमा काम गर्न तयार भएको बताए ।

‘नेपाली समाजमा दुई नम्बरीलाई नकारात्मक रुपमा लिइन्छ । तर, लाहुरे समुदायमा नम्बरीलाई साथीको हिसाबमा हेरिन्छ,’ दयाहाङले भने, ‘चलचित्र ‘२ नम्बरी’ को नामलाई चाहिँ सकारात्मक अर्थात् साथीको हिसाबले बुझौं ।’ चलचित्रमा उनी र पल साथीको भूमिकामा देखिँदैछन् । दयाहाङसँग पहिलो पटक काम गर्ने अवसर पाएकोमा अभिनेता पल आफूलाई भाग्यमानी ठान्छन् ।
नायिका वर्षा राउतले चलचित्र हेर्दा दर्शक आफ्नो भूमिकालाई लिएर सन्तुष्ट हुने सुनाइन् । उनले चलचित्रमा आफ्नो फेमिलिजम (महिला प्रधान) खालको भूमिका नभए पनि दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरिन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । चलचित्रमा अमलादेवी राई सह–निर्माताको रुपमा छन् ।




