‘जात्रै जात्रा’ प्रदर्शनमा आएको आठ महिनासम्म अभिनेत्री वर्षा राउतले नयाँ चलचित्र साइन गरिनन् । केही दिन अगाडि ‘२ नम्बरी’ चलचित्रको घोषणा कार्यक्रममा उनले आफू महिला प्रधान चलचित्र कुरेर बसेको भए पनि अफर नआएको बताएकी थिइन् । फेमिलिजम चलचित्र कुरेर बस्दा बिहे फापेन र चलचित्र अफर भएन भनेर मिडियामा समाचार आउँदा आफूले दबाब महशुस गरेको उनको भनाई थियो ।
आठ महिनासम्म चलचित्र नगरेर मौन बसेकी अभिनेत्री वर्षाका यही माघ महिनामा दुई नयाँ फिल्मको निर्माण घोषणा गरियो । माघ १६ गते सोमवार उनले अभिनेताद्वय दयाहाङ राई र पल शाहसँग रोमान्स गर्ने चलचित्र ‘२ नम्बरी’ र यो हप्ताको सोमवार अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीसँग जोडी बाँधिएको चलचित्र ‘के घर के डेरा’ को औपचारिक निर्माण घोषणा गरियो ।

सोमवार ‘के घर के डेरा’ को घोषणा सभामा पत्रकारले वर्षालाई सोधे- ‘८ महिनासम्म कुनै चलचित्र नगरेर अहिले लगालग किन चलचित्र गर्दै हुनुहुन्छ ?’ उनले प्रश्नको जवाफ दिन समय लगाइनन् । मिडियामा बिहे नफापेको र चलचित्र नपाएको भनेर आइरहेका समाचारप्रति लक्षित गर्दै उनले भनिन्, ‘चलचित्र नगर्दा बिहे फापेन भनेर समाचार बन्यो । त्यसको जवाफका लागि चलचित्र गरेको हुँ ।’
उनले अगाडि भनिन्, ‘अझै एउटा चलचित्रमा कुरा भैरहेको छ । यद्यपि, त्यो फाइनल चाहिँ भएको छैन । मैले ८ महिनासम्म चलचित्र नगर्दा मिडियामा बिहे फापेन र चलचित्र अफर भएन भन्दै समाचार बने । जस-जसले मलाई बिहे फापेर भनेर ‘न्यूज’ लेख्नुभएको थियो उहाँहरुलाई ‘न्यूज’ बनाउनका लागि दुईटा चलचित्र गर्न लागेको हुँ ।’ उनको कुराले कार्यक्रम हल हाँसोले गुञ्जिएको थियो ।
सुब्रतराज आचार्यले निर्देशन गर्ने चलचित्र ‘के घर के डेरा’ अभिनेता विपिन कार्की भएका कारण वर्षाले काम गर्न लागेको चर्चा छ । किनकि, वर्षालाई पर्दामा विपिनसँगको सहकार्य फापेको छ । तर, उनले विपिन भएका कारण ‘के घर के डेरा’ गर्न लागेको कुरामा भने सत्यता नभएको बताइन् । उनले विपिनभन्दा अगाडि नै चलचित्रको विषयमा आफूसँग कुरा भएको उनको भनाई छ ।




