अभिनेत्री पूजा शर्मा र अभिनेता द्वय आकाश श्रेष्ठ र सोनम तोप्देन अभिनीत चलचित्र ‘सम्हालिन्छ कहिले मन’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो चलचित्र अर्को वर्षको भदौ ५ गते रिलिज हुने निर्माता अजितकुमार थापाले जानकारी गराए । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा चलचित्र प्रदर्शनमा हुन लागेको हो । चलचित्रको कार्यकारी निर्मातामा अंकित गौतम र सनिष खकुरेल छन् ।
अर्को वर्षको तीजलाई लक्षित गर्दै अभिनेत्री पूजा शर्मा र आकाश श्रेष्ठ स्टारर चलचित्र ‘मन परेसी’ र सोमवार घोषणा गरिएको सुब्रतराज आचार्यले निर्देशन गर्ने चलचित्र ‘के घर के डेरा’ ले प्रदर्शन मिति घोषणा गरिसकेका छन् । भदौ ५ मा ‘सम्हालिन्छ कहिले मन’ आउने भएपछि ‘मन परेसी’ को रिलिज सर्ने बताइएको छ । किनकि, दुवै चलचित्रमा पूजा र आकाश प्रमुख भूमिकामा छन् ।

एबी इन्टरनेशलको ब्यानरमा निर्माण भएको ‘सम्हालिन्छ कहिले मन’ मा गौरी मल्ल, सरोज खनाल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि अभिनय छ । यो चलचित्रबाट नायकको रुपमा गायक समेत रहेका सोनम तोप्देनले डेब्यू गर्दैछन् । सौरभ लामाले खिचेको चलचित्रको कथा महेश दवाडीले लेखेका हुन् । सुदर्शन थापा निर्देशित चलचित्र त्रिकोणात्मक प्रेमकथामा आधारित छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको चलचित्रका गीतमा अर्जुन पोखरेल, सुगम पोखरेल र ताराप्रकाश लिम्बुले संगीत भरेका छन् । चलचित्रमा परि राना र अजित कुमार थापा सह-निर्मातामा छन् । गायक सुगम पोखरेलको चर्चित गीत ‘सम्हालिन्छ कहिले मन’ बाट चलचित्रको नाम सापटी लिइएको हो । स्टारकास्टका कारण यो चलचित्रको दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेका छन् ।




