‘साङ्लो’ गीत विवादः विराज भन्छन्, ‘म निर्दोष छु’



यही माघ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको अभिनेता विराज भट्ट निर्देशित तथा अभिनीत चलचित्र ‘साङ्लो’ विवादमा तानिएको छ । गीतको शब्द चोरी भएको भन्दै प्रहरीमा उजुरी परेपछि प्रदर्शनको संघारमा रहेको चलचित्र विवादमा तानिएको हो । गएको शुक्रवार ‘साङ्लो’ मा समावेश ‘झ्याम्मै आँखा झ्याम्मै…’ बोलको गीतको शब्द चोरिएको भन्दै निर्देशक सुदीप भुपाल सिंहले महानगरीय प्रहरी परिसर, टेकुमा उजुरी दिएका हुन् ।

यो गीतको शब्द आफूले लेखेको तर जानकारी विनै चलचित्रमा राखिएको र रचनाकारमा आफ्नो नाम पनि नराखेको भन्दै प्रतिलिपि अधिकारीको रक्षार्थ आफूले उजुरी दिएको निर्देशक सुदीप भुपाल सिंहको भनाई छ । चलचित्रलाई गीत चोरीको आरोप लागेपछि मंगलवार पत्रकार सम्मेलनको आयोजना गर्दै अभिनेता विराजले चलचित्र प्रदर्शनको बेला गीतको विवाद झिकेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजिएको आरोप लगाएका छन् ।

उनले सहमतिको प्रयास गर्दा निर्देशक सिंहले ठूलो रकम मागेर आफूलाई ‘ब्ल्याकमेलिङ’ गर्न खोजेको बताए । उनी आफ्नो कुनै गल्ती नभएको पनि बताउँछन् । उनले भने, ‘मैले सुरेश अधिकारीबाट गीत लिएको हुँ । उहाँले कहाँबाट गीत लिनुभएको हो मलाई थाहा छैन । मेरो चाहिँ के गल्ती छ र गीतको क्षतिपूर्ती दिनु ? मैले हिजो उहाँ (सुदीप भुपाल सिंह) सँग सहमतिको प्रयास गरेको थिएँ । तर, उहाँले १०/२० लाख पाए मात्र सहमति गर्न सकिन्छ भन्दै ‘ब्ल्याकमेलिङ’ गर्न खोज्नुभयो । के एउटा निर्दोष मान्छेलाई ‘ब्ल्याकमेलिङ’ गर्नु उचित हो ?’

कानुनले चलचित्रबाट गीत हटाउन निर्देशन दिएको खण्डमा आफू फिल्ममा गीत नराख्ने उनले बताए । ‘यदी कानुनले चलचित्रमा गीत नराख्न भन्छ भने म गीत हटाउन तयार छु । गीत खिच्दा भएको १०/१५ लाख खर्च म बेहोर्न तयार छु । तर, पैसाका लागि यसरी ‘ब्ल्याकमेलिङ’ गर्नु राम्रो होइन,’ अभिनेता विराजले अगाडि भने, ‘चलचित्रमा मैले कुनै काम गैरकानुनी रुपमा गरेको छैन ।’

अभिनेता विराजसँगै पत्रकार सम्मेलनमा उपस्थित भएका संगीतकार अधिकारीले गीतमा गायक निशान भट्टराईको नाम रचनाकारमा पर्नुमा प्राविधिक त्रुटी रहेको बताउँदै निर्देशक सिंहसँग सहमति भैसकेको बताए । उनले आफ्नो कारणले यूट्युबमा गीतकारमा निशानको नाम नलेखिएको पनि स्पष्ट पारे । गीतको रचनाकार आफू र निर्देशक सिंह रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu