अन्तर्राष्ट्रिय कम्पनि नेप्सिनेले विश्व बजारमा बिना अनुमति नेपाली गीत-संगीतको प्रयोग गर्ने तथा विभिन्न कार्यक्रम आयोजकहरुलाई गीत-संगीतको लाइसेन्सिङको रोयल्टी रकम तिर्न र विवरण बुझाउन २१ दिनको अल्टिमेटम दिएको छ । तोकिएको मिति भित्र विश्वभरिका आयोजकहरुले नेपाली गीत-संगीतको प्रतिलिपि अधिकार उल्लंघन गरे बापतको रोयल्टी रकम बुझाउनु पर्ने नेप्सिनेले जारी गरेको पत्रमा भनिएको छ ।
अबको २१ दिनभित्र रोयल्टी रकम नबुझाए उल्लंघनकर्तालाई कारबाहीको प्रक्रिया अघि बढाउने नेप्सिनेले जनाएको छ । उक्त प्राप्त रकम नेप्सिनेले सम्बन्धित अधिकारवालालाई अत्याधुनिक प्रणालीद्वारा व्यक्तिगत खातामै जम्मा गर्ने व्यवस्था गरिएको छ । विगत केही समयदेखि कम्पनीले सर्जकहरुसँग संझौता गरिरहेको नेप्सिनेले बताएको छ ।

नेप्सिनेले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘नेपाल भित्र होस् या बाहिर नै किन नहोस्, गीत संगीतको विना अनुमती व्यापक प्रयोग गरि कार्यक्रम आयोजकहरुले मोटो रकम उठाइरहेका छन् । संसारभरी गायक र गायिकाले कार्यक्रममा प्रस्तुति दिदा होस् या कसैले गीत संगीतलाई व्यवसायिक रुपमा प्रयोग गर्दा नै किन नहोस्, सबैले सम्बन्धित गीतको गीतकार, उत्पादक कम्पनी, संगीतकारबाट अनिवार्य रुपमा अनुमती लिनुपर्ने प्रावधान छ । तर, नेपालमा भने यसको अभ्यास देखिएको छैन ।’
नेपाली सांगीतिक क्षेत्रको मुहार फेर्ने र सम्पूर्ण श्रष्टाहरु र संगीत धनीको हक अधिकार सुनिश्चित बनाउने युगान्तकारी अभियानमा अघि बढाएको नेप्सिनेले बताएको छ । हालसम्म करिब सय जनाको हाराहारीमा गीतकार, संगीतकार र म्युजिक कम्पनिहरुसँग सम्झौता गरेर करिब ५० हजारभन्दा बढीको नेपाली गीतको व्यवस्थापन, वितरण र पब्लिशिङको अधिकार नेप्सिनेले लिएको छ ।