
काठमाडौं – चलचित्र समीक्षक समाज, नेपाल (फिक्सन) ले काठमाडौंस्थित नेपाल पर्यटन बोर्डमा एक भव्य कार्यक्रमको आयोजना गर्दै ‘क्रिटिक्स फिल्म अवार्ड’ २०८१ र २०८२ संयुक्त रूपमा वितरण गरेको छ। कार्यक्रममा वर्ष २०८१ र २०८२ का लागि नेपाली चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्याउने उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकहरूलाई पुरस्कृत गरिएको हो। अवार्ड वितरण समारोहका प्रमुख अतिथि अभिनेता मदनकृष्ण श्रेष्ठले योग्य र प्रतिभावान चलचित्रकर्मीहरूलाई सम्मान गर्न पाउँदा खुसी व्यक्त गरे। उनले कतिपय उत्कृष्ट चलचित्रहरू प्रचारप्रसारको अभावमा व्यावसायिक रूपमा असफल हुने गरेको यथार्थ राख्दै त्यस्ता गुणस्तरीय सिनेमाको पहिचान र सम्मानमा ‘क्रिटिक्स अवार्ड’ ले ठूलो भूमिका खेलेको बताए। ‘सानो संसार’ चलचित्रलाई उत्कृष्ट उदाहरणको रूपमा प्रस्तुत गर्दै उनले राम्रो सिर्जना हलमा नचलेकै कारण उपेक्षित हुनु नपर्ने धारणा राखे।
कार्यक्रममा अभिनेता हरिवंश आचार्यले ‘भूठान’ चलचित्रबाट उत्कृष्ट अभिनेताको अवार्ड ग्रहण गर्दै समीक्षकहरूबाट प्राप्त हुने अवार्ड निकै गौरवपूर्ण र गरिमामय हुने उल्लेख गरे। उनले ठट्टा गर्दै भने कि समीक्षकलाई चित्त बुझाउनु निकै कठिन काम हो, र त्यस्तो कठिन वर्गबाट प्राप्त सम्मान पक्कै पनि विशिष्ट छ। यसैगरी पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले चलचित्र र पर्यटनलाई अबका दिनमा अलग गरेर हेर्न नसकिने बताए। उनले नेपाललाई अन्तर्राष्ट्रिय सुटिङ हबका रूपमा विकास गर्न पर्यटन बोर्डले सिनेमा क्षेत्रलाई छुट्टै बजेटसहित प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाए।
फिक्सनका अध्यक्ष सामीप्यराज तिमल्सेनाले समीक्षक र सर्जकबीचको सम्बन्ध प्रतिस्पर्धाको नभई सहयात्राको भएको बताए। उनले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन स्वस्थ समीक्षा अपरिहार्य रहेको चर्चा गर्दै समीक्षकहरूलाई व्यावसायिक चलचित्रको दुश्मनका रूपमा बुझ्ने गलत परम्पराको अन्त्य हुनुपर्नेमा जोड दिए। उनले भने कि स्वस्थ आलोचना कुनै सिर्जनामाथिको प्रहार नभई त्यसलाई अझ उत्कृष्ट बनाउने इमानदार संवाद हो।
अवार्ड समारोहमा २०८१ सालका लागि ‘शाम्बाला’ ले उत्कृष्ट चलचित्रको अवार्ड जित्यो भने सोही चलचित्रका लागि मीनबहादुर भामले उत्कृष्ट निर्देशक र थिन्ले ल्हामोले उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारे। यस वर्षका लागि उत्कृष्ट अभिनेतामा ‘गाउँ आएको बाटो’ बाट दयाहाङ राई घोषित भए। त्यसैगरी, २०८२ सालका लागि ‘ऊनको स्वीटर’ ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशकमा नवीन चौहान र उत्कृष्ट पटकथा लेखनको अवार्ड प्राप्त गर्यो। ‘भूठान’ बाट हरिवंश आचार्य उत्कृष्ट अभिनेता र ‘रमिताको पिरती’ बाट आना शर्मा उत्कृष्ट अभिनेत्रीका रूपमा सम्मानित भए।

