‘बाः एक योद्धा’को पहिलो पोस्टर सार्वजनिक: रहस्यमय मुख्य पात्र ‘बा’ को भूमिकामा दिव्य देव



काठमाडौं – लामो समयदेखि दर्शकमाझ कौतूहलको विषय बनेको चलचित्र ‘बाः एक योद्धा’ को पहिलो आधिकारिक पोस्टर आइतबार निर्माण पक्षले सार्वजनिक गरेको छ। यसअघि चलचित्रको सम्पूर्ण कथा बोक्ने मुख्य पात्र अर्थात् ‘बा’ को हुन् भन्ने विषयलाई पूर्ण रूपमा रहस्यमा राखिएको थियो। तर, सार्वजनिक पोस्टरले उक्त सस्पेन्सलाई तोड्दै स्थापित अभिनेता दिव्य देव नै चलचित्रको केन्द्रीय पात्र ‘बा’ को भूमिकामा रहेको स्पष्ट पारेको छ। पोस्टरमा चस्मा लगाएका दिव्य देव निकै गम्भीर र तनावग्रस्त मुद्रामा प्रस्तुत भएका छन्, जसले एउटा जिम्मेवार बाबुको सङ्घर्षशील मनोदशालाई झल्काउँछ।

पोस्टरले चलचित्रको कथावस्तु र परिवेशबारे थुप्रै महत्त्वपूर्ण तथ्यहरू उजागर गरेको छ। पोस्टरमा दिव्य देवसँगै अभिनेत्री सुहाना थापा छोरीको भूमिकामा देखिएकी छन्। सामान्य पहिरनमा सजिएर गाउँघरतिर बोकिने झोला भिरेकी सुहानाको अनुहारमा पनि गहिरो तनाव प्रस्टै पढ्न सकिन्छ। त्यसैगरी, पोस्टरमा समावेश गरिएको घरको भित्ताको तस्बिरले एक छोरा, एक छोरी र बाबु–आमासहितको चार सदस्यीय मध्यमवर्गीय परिवारको चित्र प्रस्तुत गरेको छ। सोही तस्बिरमार्फत चलचित्रमा दिव्य देवको अपोजिट अर्थात् आमाको भूमिकामा चर्चित अभिनेत्री झरना थापा रहेको तथ्यसमेत बाहिर आएको छ। यसले नेपाली रजतपटमा झरना र सुहानालाई आमा–छोरीकै वास्तविक भूमिकामा देख्न पाइने कुराको पुष्टि गरेको छ।

एउटै पोस्टरभित्र चलचित्रको गहिरो सामाजिक यथार्थलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ। फलैँचामा बाबु र आमा बसिरहेको दृश्यसँगै आकाशमा उडिरहेको हवाईजहाजले परिवारको कुनै सदस्य वैदेशिक रोजगारी वा उच्च शिक्षाका लागि विदेशिएको संकेत गर्छ। अझ महत्त्वपूर्ण कुरा, पोस्टरको पृष्ठभूमिमा मधुरो गरी राखिएको जग्गाधनी पुर्जा (लालपुर्जा) र सरकारी छापले सन्तानको उज्ज्वल भविष्यका खातिर आफ्नो जायजेथा बन्धकी राखेर पैसा जुटाउनुपर्ने एउटा बाबुको बाध्यात्मक सङ्घर्षको मर्मस्पर्शी कथालाई इङ्गित गरेको छ। सन्तानका लागि जीवनभर बाबुले गर्ने असीमित त्याग र झेल्ने अनेकौँ चुनौतीहरू नै यस सिनेमाको मूल मर्म हो।

कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनको पावन अवसर पारेर आगामी भदौ १९ गते बाट देशव्यापी रूपमा प्रदर्शनमा आउन लागेको यस चलचित्रको लेखन तथा निर्देशन चर्चित सङ्गीतकार हरि लम्सालले गरेका हुन्। आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमामा दिव्य देव, झरना थापा र सुहाना थापाका साथै सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा, शवि थापा र अनिल बुढाथोकीलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ। वसन्त लम्सालले निर्माण गरेको यस चलचित्रमा शिवराम श्रेष्ठको उत्कृष्ट छायांकन र तारानाथ न्यौपानेको मुख्य सहायक निर्देशन रहेको छ। सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको ‘बाः एक योद्धा’ लाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले देशभरका हलहरूमा वितरण गर्ने जिम्मा लिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu