हिट जोडीको ह्याट्रिक: पल र चन्द्रबीच तेस्रो चलचित्रका लागि सम्झौता



काठमाडौं – नेपाली बक्स अफिसमा ‘आ बाट आमा’ जस्तो सफल चलचित्र दिएको निर्देशक चन्द्र पन्त र लोकप्रिय अभिनेता पल शाहको जोडीले लगातार तेस्रो पटक सहकार्य गर्ने पक्का भएको छ। शुक्रबार मात्रै उनीहरूको दोस्रो बहुप्रतीक्षित प्रोजेक्ट ‘आ बाट आमा २’ को पहलो चरणको छायांकन सकिएलगत्तै निर्देशक पन्तले पललाई आफ्नो नयाँ तथा नाम तय नभएको चलचित्रका लागि औपचारिक रूपमा अनुबन्ध गराएका हुन्।

निर्देशक पन्तका अनुसार हाल यस नयाँ प्रोजेक्टका लागि मुख्य अभिनेताको रूपमा पल शाहलाई मात्र फाइनल गरिएको छ। चलचित्रको नाम, अन्य सह-कलाकार तथा प्राविधिक टोलीको टुङ्गो लाग्न अझै बाँकी नै छ। अन्य सम्पूर्ण कलाकार र प्राविधिकहरूको छनोट प्रक्रिया पूरा भएपछि मात्रै चलचित्रको नामसहित औपचारिक घोषणा र छायांकन सुरु गरिने निर्माण पक्षले जनाएको छ। यसैबीच, सुटिङको काम सकिएको ‘आ बाट आमा २’ भने अब डबिङलगायतका पोस्ट-प्रोडक्सनको चरणमा प्रवेश गरेको जानकारी निर्देशक पन्तले दिएका छन्।

चन्द्र पन्त र पल शाहबीचको यो निरन्तरको सहकार्यलाई नेपाली चलचित्र वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको छ। गत वर्ष प्रदर्शनमा आएको उनीहरूको पहिलो सहकार्य ‘आ बाट आमा’ ले घरेलु बक्स अफिसमा १३ करोड रुपैयाँभन्दा बढीको सानदार व्यापार गर्दै लगानी सुरक्षित मात्र गरेन, चलचित्रलाई ब्लकबस्टरसमेत साबित गरेको थियो। पहिलो चलचित्रले बक्स अफिसमा खडा गरेको त्यही मजबुत व्यावसायिक विश्वास र दर्शकको अपार मायाकै कारण यो जोडीको सहकार्य तेस्रो चलचित्रसम्म लम्बिएको हो।

उनीहरूको दोस्रो सहकार्य अर्थात् भर्खरै पहिलो चरणको छायांकन सकिएको ‘आ बाट आमा २’ भने नेपालीहरूको महान् चाड बडादसैँको विशेष अवसर पारेर आगामी असोज ३० गतेबाट देशभरका सिनेमाघरहरूमा प्रदर्शनमा आउने अन्तिम तयारीमा छ। अघिल्लो चलचित्रले दर्शकको मन जितेका कारण पनि निर्माण पक्ष यस सिक्वेलको व्यावसायिक सफलतालाई लिएर निकै उत्साहित र ढुक्क देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu