निर्देशक सुवर्ण थापा लामो समयपछि नयाँ चलचित्रको तयारीमा जुटेका छन् । ‘सुनगाभा, फन्को, बाटो मुनिको फूल २’ लगायतका चलचित्रको निर्देशन गरिसकेका उनले अब ‘दि सेक्रेट्स अफ राधा’ नाममा चलचित्र बनाउँदैछन् । यही माघ २६ गतेबाट चलचित्रको छायांकन सुरु हुँदैछ । केही दिनअघि मात्र निर्देशक थापाको टिम चलचित्रका लागि लोकेशन हेरेर राजधानी फिरेको छ ।

निर्देशक थापा आफैंले निर्माण गर्ने चलचित्रमा अहिलेका चल्तीका कलाकारहरुको अभिनय रहने जानकारी प्राप्त छ । सौगात मल्ल, दयाहाङ राई, निश्चल बस्नेत र खगेन्द्र लामिछानेको चलचित्रमा मुख्य भूमिका रहने स्रोत बताउँछ । तर, यस बारेमा निर्देशक थापाले कुनै जानकारी दिएका छैनन् । उनले केही दिनमा चलचित्रको औपचारिक निर्माण घोषणा गरेर कलाकार सार्वजनिक गर्ने बताए ।
उनले चलचित्रमा सौगात, दयाहाङ, निश्चल र खगेन्द्र फाइनल भएको कुरा नकार्न भने सकेनन् । निर्देशक थापाको मौनताले उनीहरु चलचित्रमा अनुबन्ध भएको कुरालाई पुष्टि गरेको छ । केही हप्तादेखि चलचित्रको वर्कसप चलिरहेको छ । चलचित्रलाई सुवर्ण र सौगात मल्लले मिलेर निर्माण गर्नेछन् । सौगातले यसअघि चलचित्र ‘मासु भात’ पनि निर्माण गरेका थिए, जुन प्रदर्शनको पखाईमा रहेको छ ।




