सौरभ चौधरीले निर्देशन गर्न लागेको चलचित्र ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेत अनुबन्ध भएका छन् । स्क्रिप्टमा लामो छलफलपछि सोमवार उनले चलचित्र साइन गरेका हुन् । सोमवार निर्माता सुभाष थापा र निश्चलबीच कागजी सम्झौता भएको हो । चलचित्रमा यसअघि नै भर्सटायल अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन् ।

दुई वर्ष अगाडि प्रदर्शन भएको दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ मा पनि विपिन, नम्रता र निश्चल मुख्य भूमिकामा थिए । यसको सिक्वेलमा निर्देशक परिवर्तन भए पनि कलाकार यथावत रहने भएका छन् । यो चलचित्रका लागि तीनै जना कलाकारले मोटो पारिश्रमिक बुझेको चर्चा छ । निश्चलले चलचित्र साइन गरेसँगै अब निर्माण टिम छायांकनमा निस्कने तयारीमा जुटेको छ ।
चैत पहिलो साताबाट छायांकन सुरु हुने चलचित्रको कथा शुशील पौडेलले लेखेका हुन् । निःसन्तान दाम्पतिको कथामा निर्माण भएको ‘प्रसाद’ मा पनि उनकै कथा थियो । यो चलचित्र जहाँबाट सुरु भएको थियो त्यसअघिको कथा र जहाँ अन्त्य भएको थियो त्यसपछिको कथामा ‘प्रसाद २’ निर्माण हुने बुझिएको छ । निर्देशक चौधरीले यसअघि चलचित्र ‘लभ डायरीज’ निर्देशन गरेका थिए ।