साढे दुई करोडमा खुलेको ‘१६टी रेस्ट्रो एण्ड बार’ प्रियंका र धिरेनद्वारा उद्घाटन



काठमाडौं – नारायणहिटी दरबारको उत्तरढोकामा करिब साढे दुई करोड रुपैयाँको लगानीमा सुविधायुक्त ‘१६टी रेस्ट्रो एण्ड बार’ सञ्चालनमा आएको छ। बिहीबार आयोजित एक विशेष समारोहका बीच नेपाली चलचित्र उद्योगका अग्रज अभिनेता धिरेन शाक्य, चर्चित अभिनेत्री प्रियंका कार्की र ‘मिसेस नेपाल वर्ल्ड २०२५’ की विजेता रक्षा पन्तले संयुक्त रूपमा रिबन काटेर यस रेस्टुरेन्टको औपचारिक उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै अभिनेता शाक्यले राजधानीको प्राइम लोकेसनमा विशेषगरी इन्डियन परिकारको स्वादसहित नयाँ गन्तव्य सञ्चालनमा आएको भन्दै व्यावसायिक सफलताको शुभकामना व्यक्त गरे। त्यसैगरी, अभिनेत्री कार्कीले स्वदेशमै लगानी गरेर उद्यमशील बन्न चाहनेहरूलाई आफूले सदैव प्रोत्साहन गर्दै आएको बताइन्। नेपालमै केही नयाँ व्यवसाय सुरु भएको देख्दा आफ्नो मन निकै हर्षित हुने र सञ्चालकहरूको उत्साह बढाउनकै लागि आफू उक्त कार्यक्रममा उपस्थित भएको उनको भनाइ थियो। ‘मिसेस नेपाल वर्ल्ड’ विजेता पन्तले पनि पारिवारिक तथा मैत्रीपूर्ण वातावरणका कारण यो रेस्टुरेन्ट सबै उमेर समूहका ग्राहकहरूको पहिलो रोजाइमा पर्ने र गुणस्तरीय सेवाले सबैको मन जित्ने विश्वास व्यक्त गरिन्।

आधुनिक र आकर्षक इन्टेरियर डिजाइनमा सजाइएको यस रेस्ट्रोमा आरामदायी बसाइ, शान्त प्रकाश संयोजन र उत्कृष्ट आतिथ्य सत्कारको व्यवस्था मिलाइएको छ। रेस्टुरेन्टका सञ्चालक राजाराम शर्माले यहाँ अन्यत्रभन्दा नितान्त फरक र विशिष्ट स्वादका परिकारहरू पस्किने प्रतिबद्धता जनाएका छन्। शर्माका अनुसार, यस रेस्ट्रो एण्ड बारमा नेपाली र भारतीयसहित विभिन्न अन्तर्राष्ट्रिय स्वादका गुणस्तरीय परिकारहरू उपलब्ध हुनेछन्। ग्राहकहरूलाई केवल खानाको परिकार मात्र नभई उत्कृष्ट स्वाद, स्तरीय सेवा र शान्त वातावरणको अनुपम संयोजन प्रदान गर्दै परिवार, साथीभाइ तथा व्यावसायिक भेटघाटका लागि समेत यसलाई काठमाडौँकै एक उत्कृष्ट गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य सञ्चालक पक्षले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu