छाउपडी प्रथाको दर्दनाक कथा बोकेको चलचित्र ‘हली’को टिजर सार्वजनिक, साउन २२ मा प्रदर्शन हुँदै



काठमाडौं – नेपाली समाजको गहिरो घाउको रूपमा रहेको छाउपडी प्रथालाई मुख्य विषयवस्तु बनाएर निर्माण गरिएको आगामी चलचित्र ‘हली’ को मर्मस्पर्शी टिजर सार्वजनिक भएको छ। आगामी साउन २२ गतेलाई देशव्यापी प्रदर्शन मिति तय गरेको यस चलचित्रको निर्माण पक्षले प्रदर्शनको समय नजिकिँदै गर्दा प्रचारप्रसारलाई तीव्रता दिँदै टिजर दर्शकमाझ ल्याएको हो।

सार्वजनिक गरिएको एक मिनेट २८ सेकेन्ड लामो टिजरले महिनावारी हुँदा घरकी छोरीलाई छाउगोठमा राख्नुपर्ने र परिवार तथा बुबाको अनुहारसमेत हेर्न नहुने अन्धविश्वासपूर्ण दर्दनाक यथार्थलाई पर्दामा उतारेको छ। सुन्दा पुरानो समयको जस्तो लागे पनि वर्तमान समाजमै घटिरहेका वास्तविक घटनाबाट प्रेरित यस कथामा, समाजको यही अमानवीय कुरीतिविरुद्ध एक पढेलेखेका युवाले कानुनी लडाइँ लडेको (मुद्दा हालेको) रोचक दृश्य टिजरमा देख्न सकिन्छ। चलचित्रको पूर्ण कथा र अन्य सस्पेन्सका लागि भने दर्शकले साउन २२ गतेसम्म हलमै पुगेर कुर्नुपर्नेछ।

यस चलचित्रको लेखन तथा निर्देशन ओम प्रतिकले गरेका हुन् भने उनी आफैँ पर्दामा मुख्य भूमिकामा प्रस्तुत भएका छन्। उनीसँगै चलचित्रमा सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडी जस्ता स्थापित र अनुभवी कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ।

जापुरा फिल्मस् प्रोडक्सन र शुभ चिरायू फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रमा व्यवसायीद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठले लगानी गरेका हुन्। चलचित्रको सांगीतिक पक्ष पनि निकै बलियो बनाइएको छ। वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाका साथै बाबुल गिरी र कृष्ण भारद्वाजको सुमधुर सङ्गीत रहेको यस सिनेमाका गीतमा चर्चित गायिका शान्ति श्री परियार र गायक बाबुल गिरीको स्वर सुन्न सकिन्छ। गीतका शब्द भने निर्माता जश्मिन श्रेष्ठले नै कोरेकी हुन्। एक महिनाअघि मात्रै दीपाश्री निरौला, किरण केसी, दिलीप रायमाझी, प्रियंका कार्की र पूजा शर्मा जस्ता ठूला स्टारहरूको विशेष नृत्यसहितको प्रमोसनल गीत रिलिज गरिएको थियो, जसले चलचित्रप्रति दर्शकको चासो ह्वात्तै बढाएको छ। चलचित्रका गीतहरूमा चर्चित कोरियोग्राफर कविराज गहतराज र निर्देशक ओम प्रतिकले संयुक्त रूपमा नृत्य निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu