
काठमाडौं – आठ वर्षको लामो अन्तरालपछि अभिनेत्री रेखा थापाले निर्देशनमा कमब्याक गरेको बहुप्रतीक्षित चलचित्र ‘माया भनेकै यस्तो होला’ यतिबेला पोस्ट-प्रोडक्सनको चरणमा छ। यसै चलचित्रमार्फत नायक दिल श्रेष्ठ पनि करिब छ वर्षपछि ठूलो पर्दामा मुख्य अभिनेताको रूपमा फर्किँदैछन्। मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, उषा खड्गी, लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेलजस्ता स्थापित र चर्चित अनुहारहरूको बाक्लो उपस्थिति रहेको यस चलचित्रमा दिल मुख्य नायकको भूमिकामा देखिन लागेका हुन्।
दिलको फिल्मी करियरको कुरा गर्दा यो उनको तेस्रो कथानक चलचित्र हो। सन् २०११ मा प्रदर्शित चलचित्र ‘पर्खि राख है’ बाट नेपाली रजतपटमा पाइला राखेका उनले छ वर्षअघि रिलिज भएको ‘हिरो रिटर्न्स’ मा पनि रेखा थापासँग स्क्रिन सेयर गरेका थिए। लामो ग्यापपछि रेखासँगै दोस्रो सहकार्य गर्दै पर्दामा फर्किन लागेका दिल आफू भौतिक रूपमा पर्दामा नदेखिए पनि चलचित्र क्षेत्रसँग निरन्तर अपडेट रहेको बताउँछन्। यसपटक विगतका सिनेमाहरूमा भएका कमजोरीहरूलाई सुधारेर निकै परिष्कृत काम गरेको उनको दाबी छ। मदनकृष्ण श्रेष्ठ र रेखा थापाजस्ता दिग्गज (लेजेन्ड) कलाकारहरूसँग एउटै फ्रेममा काम गर्नु आफैँमा भारी चुनौतीपूर्ण रहे पनि आफूले उक्त चुनौतीलाई सुनौलो अवसरमा परिणत गरेको दिलको भनाइ छ।
नजिकिँदै गरेको हरितालिका तीजको छेको पारेर आगामी भदौ २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यस सिनेमाले प्रेमकथाको माध्यमबाट सामाजिक भावना र परिवेशलाई प्रस्तुत गर्ने पटकथाकार ध्रुव लम्सालले जानकारी दिएका छन्। विशेष कुरा त के छ भने, रेखा थापाले आफ्नो करियरमा पहिलोपटक होम प्रोडक्सन ‘रेखा फिल्मस्’ को ब्यानरभन्दा बाहिर गएर यस चलचित्रको निर्देशनको बागडोर सम्हालेकी हुन्। ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भइरहेको यस सिनेमामा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठको संयुक्त लगानी रहेको छ।

