अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी विवाह बन्धनमा बाँधिएको एक वर्षपछि माता-पिता बन्ने भएका छन् । उनीहरुले सामाजिक सञ्जालमार्फत् आफूहरु माता-पिता बन्न लागेको जानकारी दिएका हुन् । शुक्रवार साँझ प्रियंकाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो बेबी बम्पसहितको तस्विर सार्वजनिक लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं । सोध्न बन्द गर्नुस् ।’

लकडाउनपछि प्रियंका सार्वजनिक कार्यक्रमहरुमा देखिएकी थिइनन् । केही समयदेखि उनी सामाजिक सञ्जालमा पनि खासै सक्रिय थिइनन् । यसबाट धेरैले उनी गर्भवती भएको हुनसक्ने अड्कल काटेका थिए । अन्ततः उनले नयाँ वर्षको छेकोमा आफ्ना प्रशंसकलाई खुसी खबर दिएकी छन् । प्रियंका र आयुष्मान आमा-बुबा बन्न लागेकोमा खुसी देखिएका छन्, जुन तस्विरले बोल्छ ।
दुई वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्षको फागुन १६ गते विवाहमा परिणत गरेका प्रियंका र आयुष्मानले विवाहको पहिलो वर्षगाँठ माल्दिभ्स पुगेर मनाएका थिए । विवाह बन्धनमा बाँधिएपछि प्रियंकाले चलचित्रमा काम गरेकी छैनन् । लकडाउनको समयमा केही म्यूजिक भिडियोमा अभिनय गरेकी उनले दशैंपछि आफ्नो निर्माणमा ‘बसन्त’ नामक वेब सिरिजको निर्देशन गरेकी थिइन् ।




