‘रोल नं १’ आकर्षक अफर : स्कुल जीवनको भिडियो कथा बनाएर ३० हजार जित्ने मौका



काठमाडौं – आगामी जेठ १५ गतेदेखि प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘रोल नं १’ को निर्माण पक्षले दर्शकहरूलाई लक्षित गर्दै एक आकर्षक नगद पुरस्कारसहितको योजना (स्किम) सार्वजनिक गरेको छ। चलचित्रको प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण टोलीले ‘म, साथी, शिक्षक र मेरो स्कुलको कथा’ नामक भिडियो प्रतियोगिता आयोजना गर्दै ‘गेट चान्स टु विन क्यास प्राइज’ अफर ल्याएको हो।

यस प्रतियोगितामा सहभागी हुन चाहने जोकोहीले पनि आफ्नो स्कुल जीवनका अविस्मरणीय पलहरू समेटेर १ देखि ३ मिनेटसम्मको भिडियो तयार गर्नुपर्नेछ। सहभागीले भिडियोको सुरुवातमै आफ्नो परिचयसहित विद्यालयको नाम र ठेगाना खुलाएर वास्तविक भोगाइहरू प्रस्तुत गर्नुपर्ने नियम राखिएको छ। उक्त भिडियो कथामा शिक्षकबाट मिलेको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्त्व, गरिबी वा जीवनका चुनौती, स्कुलका रमाइला सम्झनादेखि लिएर आफ्ना सपना, लक्ष्य र सङ्घर्षका विषयहरू समेट्न सकिने निर्माण पक्षले जनाएको छ। सिर्जनात्मक र भावुक प्रस्तुतिसँगै भिडियोको आवाज पनि स्पष्ट हुनुपर्ने मापदण्ड तोकिएको छ।

कुनै पनि उमेर समूहका व्यक्तिले भाग लिन पाउने यस प्रतियोगिताका लागि तयार पारिएको भिडियो टिकटक, फेसबुक वा इन्स्टाग्राममध्ये कुनै एक सामाजिक सञ्जालमा पोस्ट गर्न सकिनेछ। यसरी भिडियो सार्वजनिक गर्दा फेसबुकमा ‘7seascinemas’ र टिकटकमा ‘@7seascinema’ लाई अनिवार्य रूपमा ट्याग गर्नुपर्नेछ। साथै, पोस्ट गर्दा तोकिएका ह्यासट्यागहरू (#RollNo1, #NepaliMovie, #Jestha15, #MySchoolStory, #SchoolMemories, #StudentLife र #7SeasCinema) अनिवार्य प्रयोग गर्नुपर्ने सर्त राखिएको छ।

प्रतियोगितामा प्रथम हुने उत्कृष्ट भिडियोले ३० हजार रुपैयाँ नगद प्राप्त गर्नेछ भने द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यसका अलावा, २० जना सहभागीलाई सान्त्वना स्वरूप चलचित्र ‘रोल नं १’ को एक-एक वटा टिकट उपलब्ध गराइनेछ। विजेताहरूको औपचारिक घोषणा भने जेठ २५ गते गरिने बताइएको छ।

महेश दवाडीको लेखन तथा जौन योञ्जनको निर्देशनमा तयार भएको ‘रोल नं १’ ले वर्तमान त्रुटिपूर्ण शैक्षिक प्रणाली र त्यसले कलिला बालबालिकाको मनोविज्ञान एवम् उनीहरूको समग्र भविष्यमा पार्ने नकारात्मक प्रभावलाई मूल विषयवस्तु बनाएको छ। विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ भने निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल र सिजल श्रेष्ठ बाल-कलाकारका रूपमा प्रस्तुत भएका छन्।

छत्रमाया गिरी र रमेश चौलागाईं सह-निर्माता रहेको यस सिनेमालाई शिवराम श्रेष्ठले छायाङ्कन (डीओपी) गरेका हुन्। चलचित्रमा प्रशान्त सिवाकोटीको सङ्गीत, रोहित शाक्यको पार्श्व सङ्गीत (बिजीएम), मदन घिमिरेको सम्पादन र फिरोज खड्काको मुख्य सहायक निर्देशन रहेको छ। कला सङ्ग्रौलाको प्रोडक्सन डिजाइन र मनोज जोशी प्रोडक्सन हेड रहेको यस चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछन्। निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकैसाथ रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu