श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु



काठमाडौं – गत मंगलबार शुभमुहूर्त सम्पन्न भएसँगै नेपाली चलचित्र ‘महाराजधिराज’को छायांकन औपचारिक रूपमा सुरु भएको छ। सुनसरीस्थित रमणीय ‘श्रीलंका टापु’बाट यस सिनेमाको दृश्य कैद गर्न थालिएको हो। निर्माण पक्षका अनुसार यस टापुमा करिब एक सातासम्म सुटिङ चल्नेछ। त्यसपछि बाँकी छायांकनका लागि निर्माण टोली काठमाडौं, भक्तपुर र कीर्तिपुरका विभिन्न ऐतिहासिक तथा मनमोहक लोकेसनहरूमा पुग्नेछ। चलचित्रको सम्पूर्ण सुटिङ तालिका ७० दिनको तय गरिएको छ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रलाई परिच्छेद सेनले निर्देशन गरिरहेका छन्। निर्देशक सेन स्वयंको लेखन रहेको यो सिनेमा विशुद्ध ‘सोसल पिरियड ड्रामा’ जनरामा निर्माण हुन लागेको हो। विराज विष्ट प्रस्तुतकर्ता रहेको यस बृहत् प्रोजेक्टलाई नबराज थापाले आफ्नो क्यामेरामा उतारिरहेका छन्।

यस चलचित्रमा नेपाली रजतपटका चलेका र दिग्गज कलाकारहरूको ठूलो जमघट देख्न पाइनेछ। चलचित्रमा आर्यन सिग्देल, रमेश उप्रेती, पुष्प खड्का, पूजा शर्मा र केकी अधिकारी जस्ता स्टार कलाकारहरूको मुख्य अभिनय रहनेछ। उनीहरूका साथमा नीर शाह, उषा रजक, गजित बिष्ट, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी., विशाल पहाडी र सुशील सिटौला लगायतका प्रभावशाली अनुहारहरू पर्दामा देखिनेछन्।

निर्माण पक्षका अनुसार चलचित्रको कथावस्तुको मागअनुसार यसमा साना–ठूला गरी जम्मा ८० जना कलाकारहरूको अभिनय रहनेछ। जसमा हिउँवाला गौतम, प्रिया रिजाल, आशा पौडेल, पुष्कर कार्की, कमल गाउँले, शिशिर भण्डारी, हेमन्त बुढाथोकी, कविता पुरी, सृष्टि खड्कालगायत थुप्रै नवोदित तथा अनुभवी कलाकारहरू समावेश छन्।

रवि खड्का, शिवराज पौडेल र टोपेन्द्र विष्ट निर्माता रहेको यस चलचित्रले बक्सअफिसमा ठूलो प्रभाव छाड्ने अपेक्षा गरिएको छ। भव्य क्यानभास, ऐतिहासिक कथावस्तु र जम्बो कलाकार टोलीका साथ निर्माण भइरहेको ‘महाराजधिराज’ लाई आगामी दसैँको फूलपातीको अवसर पारेर देशभरका सिनेमाघरहरूमा प्रदर्शन गर्ने निर्माण पक्षको लक्ष्य रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu