
काठमाडौं – नेपाल चलचित्र निर्देशक समाजको नयाँ नेतृत्वमा अरुण कुमार प्रधान निर्वाचित भएका छन्। मंगलबार काठमाडौंमा सम्पन्न समाजको १८औँ वार्षिक साधारणसभा तथा महाधिवेशनले प्रधानलाई अध्यक्ष पदमा चयन गरेको हो। कडा प्रतिस्पर्धा अनुमान गरिए पनि प्रधानले निवर्तमान अध्यक्ष जनकदीप पराजुलीलाई ६३ मतको भारी अन्तरले पछि पार्दै शानदार जित दर्ता गराए। निर्वाचन परिणामअनुसार प्रधानले १०९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पराजुली ४६ मतमै सीमित हुन पुगे। समग्र निर्वाचन परिणामलाई हेर्दा नवनिर्वाचित पदाधिकारीहरूमा प्रधान प्यानलकै वर्चस्व देखिएको छ।
त्यसैगरी, समाजको दुई उपाध्यक्ष पदमा सुवास गजुरेल र दीपक वली विजयी भएका छन्। खसेको मतमध्ये गजुरेलले ९५ र वलीले ७१ मत प्राप्त गर्दै आफ्नो सिट सुरक्षित गरेका हुन्। महासचिव पदमा भने समुन्द्र भट्टले बाजी मारेकी छन्। उनले १०६ मत ल्याएर विजय हासिल गर्दा प्रतिस्पर्धी कमल एक्चै मगरले ४७ मत मात्र प्राप्त गरे। उता, सचिव पदमा दिनेश लिङ्देनलाई फराकिलो मतान्तरले हराउँदै राजबहादुर साने विजयी भएका छन्। सानेले ८० मत प्राप्त गर्दा लिङ्देनले जम्मा २८ मत पाएका थिए।
समाजको कोषाध्यक्ष पदमा भने जनक खड्का निर्विरोध निर्वाचित भएका छन्। त्रिपक्षीय भिडन्त रहेको सह-कोषाध्यक्ष पदमा उत्सव केसी विजयी बनेका छन्। केसीले ६६ मत ल्याउँदा उनका प्रतिस्पर्धीहरू अमृतमान महर्जन र भीषण राईले क्रमशः ४४ र ४२ मत प्राप्त गरे। यस्तै, ६ जना कार्यसमिति सदस्यहरूमा लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमरदीप सापकोटा, शिव शर्मा कँडेल र हस्तबहादुर लिम्बू निर्विरोध चयन भएका छन्।
नेपाली चलचित्र क्षेत्रमा आबद्ध निर्देशकहरूको हकहित संरक्षण तथा पेसागत सुरक्षा सुनिश्चित गर्ने मूल उद्देश्यका साथ वि.सं. २०५७ सालमा यस संस्थाको स्थापना भएको थियो। महाधिवेशनबाट निर्वाचित यस नयाँ कार्यसमितिले आगामी ३ वर्षसम्म निर्देशक समाजको नेतृत्व सम्हाल्नेछ।






