अभिनेत्री उपासना सिंह ठकुरीले विदेशमा आर्जन गरेको ज्ञान, सिप र अनुभवलाई नेपालमा लगाउन आग्रह गरेकी छन् । शुक्रवार एजुकेसन एण्ड माइग्रेसन कर्नरले पुतलीसडकस्थित आफ्नो कार्यालयमा आयोजना गरेको शैक्षिक मेलामा उपस्थिति विद्यार्थीहरुलाई उनले विदेशमा गएर अध्ययन गर्नु गलत नभएको तर त्यहाँ सिकेको अनुभवलाई स्वदेशमा लगाउनु पर्ने बताइन् ।

माइग्रेसन कर्नरको ब्राण्ड एम्बस्डर समेत रहेकी उनले शैक्षिक मेलामा अब्रोडमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरुसँग कलाकारिताको बारेमा पनि छलफल गरेकी थिइन् । ‘विदेशमा उच्चशिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुसँगको छलफल फलदायी रह्यो । उहाँहरुको भेटघाट मेरो लागि नयाँ अनुभव थियो । शैक्षिक मेला प्रभावकारी बनेको विश्वास लिएका छौं,’ उनले भनेकी छन् ।
उच्चशिक्षाका लागि विदेश जान चाहने तर सही जानकारी नपाएर अलमलमा परेका विद्यार्थीहरुलाई लक्षित गरेर आयोजना गरिएको मेला प्रभावकारी बनेको एजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीको विश्वास छ । शैक्षिक मेलामा अफर लेटर र उच्चशिक्षा हासिल गर्न विदेश जान खोजे पनि दोधारमा परेका विद्यार्थीहरूलाई विस्तृतमा जानकारी गराइएको उनले बताए ।




