‘अनन्त’ मा कर्मा र लक्ष्मी



थिएटरको पृष्ठभूमिबाट आएका अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवाले पहिलो पटक एकसाथ काम गर्ने भएका छन् । चलचित्र ‘अनन्त’ मा उनीहरुको जोडी बाँधिएको छ । शनिबारबाट चलचित्रको भक्तपुरमा सुटिङसमेत सुरु भएको छ । चलचित्रलाई जेसन लोप्चनले निर्देशन गरिरहेका छन् । अस्कर फिल्म कलेजबाट ग्रयाजुएसन गरेका उनले केही लघु चलचित्रको निर्देशन गरेका छन् ।

आफ्नो प्रेमका लागि हदसम्म जाने चरित्रको कथा पेश गर्ने चलचित्रको २० दिनमा छायांकन सक्ने लक्ष्य राखिएको छ । चलचित्रको पटकथा निर्देशक जेसनले नै लेखेका हुन् । किपालय प्रोडक्सनको ब्यानरमा नवविजय श्रेष्ठ निर्माता रहेको चलचित्रको सह-निर्मातामा रन्जन ढुंगाना र शीतल खड्का छन् । जीवन अधिकारीको पनि मुख्य भूमिका रहने चलचित्रलाई बबिन दुलालले खिचिरहेका छन् ।

कर्मा र लक्ष्मी दुवै एकअर्काको ठूलो प्रशंसक रहेको बताउँछन् । कर्माले लक्ष्मीको प्रशंसा गर्दै भने- ‘म लक्ष्मीको थिएटरको समयदेखिकै प्रशंसक हुँ तर पछिल्लो समय उहाँले म्युजिक भिडियो र चलचित्रमा पनि उत्तिकै राम्रो काम गरिरहनु भएको छ । यो चलचित्रमा सँगै काम गर्ने कुराले साँच्चिकै उत्साहित छु ।’ लक्ष्मीले पनि कर्मासँग काम गर्ने कुरा आफ्नो लागि बोनस भएको बताइन् ।

निर्देशक जेसनले आफू क्रिस्टोफर नोलनको प्रशंसक रहेको र उनका ‘इन्सेप्सन’, ‘टेनेट’ जस्ता चलचित्रको शैलीबाट प्रेरित भएर ‘अनन्त’ लेखेको बताएका छन् । उनले भने- ‘आफूले प्रेम गर्ने मानिसको रक्षाका लागि हामी कुन हदसम्म जान सक्छौं, चलचित्रको कथा यही हो । तर, यसलाई हामीले साइफाइ फ्लेबर दिएका छौं ।’ चलचित्रलाई काठमाडौं भ्यालीमा जीजीए ग्रुपले वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu