बलिउडको सफल चलचित्र ‘एमएस धोनी’ का निर्देशक तथा निर्माता नीरज पान्डेले नेपाली चलचित्र निर्माण गर्ने भएका छन् । ‘ट्वाइलेट एक प्रेमकथा, रुस्तम’ जस्ता चलचित्रको निर्माण समेत गरिसकेका उनले नेपालका निर्माता सरोज न्यौपानेसँग सहकार्य गरेर नेपाली चलचित्र बनाउन लागेका हुन् । गएको हप्ता नीरजको प्रोडक्सन कम्पनी फ्राइडे फिल्मवर्कस र सरोजको अनन्या फिल्म्सबीच सम्झौता भएको हो ।
नाम गोप्य राखिएको चलचित्रलाई हेमराज विसीले निर्देशन गर्नेछन् । आउँदो भदौबाट छायांकन सुरु हुने चलचित्रका लागि कलाकार छनोट हुन बाँकी रहेको निर्माता न्यौपानेले जानकारी दिए । आफूहरु स्टार कलाकार लिने सोचमा भए पनि निर्देशक पान्डेले अडिसनबाट कलाकार छनोट गर्न आग्रह गरेको उनले बताए । चाँडै देशभर चलचित्रका लागि अडिसन गरिने उनको भनाई छ ।

चलचित्रको कथा र स्क्रिनप्ले निरज पान्डेको रहनेछ । नेपाली भाषामा बनेपछि चलचित्रको हिन्दी रिमेक समते बन्ने निर्माता न्यौपानेले बताए । हिन्दी रिमेकको निर्देशन पनि हेमराजले गर्नेछन् । सरोज भन्छन्, ‘निरज पान्डेले नै हिन्दी रिमेकको निर्देशन हेमराजले गर्नुपर्छ भन्नुभएको छ । उहाँले चलचित्रमा आफ्नो नाम, लगानी र प्रोडक्सन हाउस जोडिएकाले राम्रो बनाउन आग्रह गर्नुभएको छ ।’
नीरज पान्डेसँग जोडिन कसरी सम्भव भयो ? भन्ने प्रश्नमा उनी अगाडि भन्छन्, ‘यो करीब २ वर्षदेखिको मेहनतको प्रतिफल हो । हामीसँग निर्देशक सबल छन् तर स्क्रिप्ट र स्क्रिनप्ले नै कमजोर हुन्छ । यही कारण बलिउडकै लेखकलाई स्क्रिप्ट र स्क्रिनप्ले लेखाउन पाए हुन्थ्यो भन्ने सोचिरहेका थियौं । हेमराज मुम्बई बस्दा चिनेका साथीको माध्यमबाट हामी नीरज पान्डेसम्म पुगेका हौं ।’ नीरज पान्डेको उपस्थितिमा फिल्मको औपचारिक घोषणा गर्ने तयारीमा निर्माण टिम रहेको छ ।




