चलचित्र ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ को सोमवारबाट छायांकन सुरु भएको छ । अर्विन्द राज गुरुङको निर्देशनमा बन्न लागेको चलचित्रको नेपाल र भारतको दार्जिलिङ, सिक्किम, कोलकातामा सुटिङ हुनेछ । अर्विन्द राज प्रोडक्सन र आनजिग प्रोडक्सनको ब्यानरमा चलचित्र बन्न लागेको हो ।

चलचित्रमा रिश्मा गुरुङ, बुद्धि तामाङ, गौरव मल्ल प्रधान र रिकजंग दोर्जे भुटिया मुख्य भूमिकामा छन् । नेपाली गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ मा आफ्नो गायकी कला देखाइसकेकी यान्की योल्मोको पनि फिल्ममा स्वरसँगै अभिनय रहनेछ । चञ्चल थापाले खिचिरहेको चलचित्रलाई रेनिस फागोको कलर ग्रेडिङ गर्नेछन् । ‘
कबड्डी’ मा अभिनय गरेपछि चर्चामा आएकी रिश्माले चलचित्रको कथा मनपरेकोले ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ मा अभिनय गर्न तयार भएको बताइन् । आफूलाई धेरै चलचित्रबाट अफर आए पनि ‘क्रसरोड्स–कथा तिम्रो र मेरो’ को स्क्रिप्ट र आफ्नो चरित्र मनपरेकोले काम गर्न सहर्ष राजी भएको उनको भनाई छ ।