चलचित्र ‘कबड्डी’ को फाइनल म्याचमा अभिनेत्री मिरुना मगर भित्रिएकी छन् । यूकेमा परिवारसँग बस्दै आएकी उनी यो चलचित्रको वर्कसपका लागि गएको हप्ता काठमाडौं आइपुगेकी छन् । मिरुनाले चलचित्र ‘लालपूर्जा’ बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी हुन् । यसपछि चलचित्र ‘रोज, साइँनो र चच हुईं’ मा काम गरेकी उनले अहिलेसम्म सफलताको सुख प्राप्त गर्न सकेकी छैनन् ।

‘कबड्डी’ आफैंमा सफल सिरिज भएका कारण उनको करिअरलाई ठूलो फाइदा पुग्ने विश्वास लिइएको छ । दर्शकले रुचाएको सिरिजसँग आबद्ध हुन पाएकोमा उनले खुसी व्यक्त गरेकी छन् । रामबाबु गुरुङले निर्देशन गर्ने ‘कबड्डी ४’ मा मिरुनासँगै गौमाया यात्री पनि फाइनल भएकी छन् । उनले यही चलचित्रबाट अभिनेत्रीको रुपमा डेब्यू गर्नेछिन् ।
दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्दि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामा पनि ‘कबड्डी ४’ मा अनुबन्ध भइसकेका छन् । निश्चल बस्नेतको केमियो रहने चलचित्रमा रिश्मा गुरुङ र उपासना सिंह ठकुरी रहने वा नरहने विषयमा भने निर्माण टिमले जानकारी दिएको छैन । बैशाखबाट छायांकन सुरु हुने चलचित्रलाई आउँदो असोज १५ गते प्रदर्शन गरिँदैछ ।