‘श्री’ मा ‘कम्फर्ट जोन’ बाट बाहिर निस्किएको छु : सन्दिप क्षेत्री



एभरेष्ट सूर्य बोहोरा निर्देशित चलचित्र ‘श्री’ चैत २७ गतेबाट देशभरका सिनेमा हलमा एकसाथ प्रदर्शन हुने भएको छ । शुक्रवार निर्माण टिमले ट्रेलर सार्वजनिक गर्दै चलचित्र चैत २७ गते ओटीटी प्लेटफर्ममा मात्र रिलिज हुने घोषणा गरेको थियो । मंगलवार राजधानीमा एक कार्यक्रमबीच निर्माण टिमले अब चलचित्र सिनेमा हलमा पनि प्रदर्शन हुने जानकारी गरायो ।

चलचित्रको ट्रेलर मन परेपछि सिनेमा हलमा पनि प्रदर्शनका लागि आफूले गरेको आग्रह निर्देशक बोहोराले स्वीकार गरेको वितरक करण श्रेष्ठले बताए । चलचित्र क्षेत्रलाई ‘श्री’ ले चलायमान बनाउने उनको विश्वास छ । उनले भने- ‘हलमा दर्शक आउँछन् वा आउँदैनन् थाहा छैन तर दर्शकका लागि चलचित्र हलमा लाग्छ । यो समयमा ‘श्री’ ले नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धि गर्छ भन्नेमा विश्वस्त छु ।’

सविता गुरुङको निर्माण रहेको चलचित्रमा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय रहेको छ । सन्दिपले ‘श्री’ आफ्नो करिअरको उत्कृष्ट चलचित्र रहेको दाबी गरे । यसमा आफू ‘कम्फर्ट जोन’ (हास्य भूमिका) बाट बाहिर निस्किएर अभिनय गरेको उनको भनाई छ ।

उनले भने- ‘मैले आफ्नो ‘कम्फर्ट जोन’ भन्दा बाहिर निस्किएर अभिनय गरेको छु । त्यो मेरो लागि सबैभन्दा ठूलो चुनौती थियो । मलाई गम्भीर खालको भूमिकामा सूर्य दाईबाहेक आजसम्म कसैले विश्वास गरेको थिएन । मैले जति पनि चलचित्र गरेँ त्यसबाट सन्तुष्ट छु । तर, यसपटक ठोकुवाका साथ भन्छु कि ‘श्री’ हामीले बडा राम्रोसँग बनाएका छौं । र, यो मेरो करिअरको उत्कृष्ट चलचित्र हो ।’

शेरबहादुर तामाङको छायांकन र सुजन बडालको सम्पादन रहेको चलचित्र एभरेष्ट सूर्य बोहरा फिल्मस्, महारानी इन्टरटेन्मेन्ट युके र ओएसआर डिजिटलको सहकार्यमा निर्माण भएको हो । चलचित्रलाई राजधानीमा जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ । ओटीटीमा भने ‘मोमो : म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा चलचित्र एकसाथ रिलिज हुनेछ ।

ट्रेलर हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu