लक्ष्मी बर्देवाले पनि छाडिन् दीपकको ‘घिन्ताङ’



चलचित्रको छायांकन सुरु नभएसम्म कलाकार हेरफेर हुने शिलशिला चलि नै रहन्छ । चलचित्र ‘घिन्ताङ’ मा पनि यस्तै भएको छ । निर्देशक दीपक श्रेष्ठले यो चलचित्रबाट सात वर्षपछि निर्देशकमा कमब्याक गर्दैछन् । तर, उनलाई चलचित्रका लागि साइन भएका कलाकार टिकाउनै धौ-धौ परेको छ । सबैभन्दा पहिला अनुबन्ध भएकी नायिका एलिजा गौतमले पिता विरामी भएको कारण देखाउँदै चलचित्र छाडिन् ।

मुहूर्तको अघिल्लो दिन निर्देशक श्रेष्ठले एलिजाको ठाउँमा अभिनेत्री लक्ष्मी वर्देवालाई अनुबन्ध गरे । सरस्वती पूजामा मुहूर्त गरिएको चलचित्रको केही दिनमा छायांकन सुरु हुने बताइएको थियो । तर, छायांकनको तयारी हुँदै गर्दा दीपक श्रेष्ठ कोरोना संक्रमित भए । यसपछि चलचित्रको छायांकन सुरु हुन पाएन । अब निर्देशक श्रेष्ठ कोरोनालाई जितेर छायांकनमा निस्कने तयारीमा जुटेका छन् ।

तर, यसपटक पनि उनले कलाकारबाट धोका पाएका छन् । चलचित्रबाट लक्ष्मीले हात झिकेकी छन् । छायांकनरत चलचित्र ‘अनन्त’ का लागि उनले ‘घिन्ताङ’ छाडेकी हुन् । भनिएको समयमा छायांकन सुरु नभएपछि चलचित्र छाड्न बाध्य भएको उनको भनाई छ । लक्ष्मीले चलचित्र गर्न नभ्याउने भएपछि निर्देशक श्रेष्ठले अभिनेत्री नीता ढुंगानालाई चलचित्रमा अनुबन्ध गरेको जानकारी प्राप्त छ ।

चलचित्रमा अभिनेता गौरव पहारी भने यथावत छन् । एकल महिला र पुरुषबीचको अन्तरजातीय प्रेम सम्बन्धको कथा पेश गर्ने चलचित्रमा नीर शाह र मदनकृष्ण श्रेष्ठको पनि विशेष भूमिका रहनेछ । साहित्यकार मन्दिरा ‘मधुश्री’ लेखेको ‘मासुको मुल्य’ कथामा निर्माण हुन लागेको चलचित्रको छायांकन काठमाडौं र चित्लाङ आसपासमा हुनेछ । चलचित्रको प्रस्तुतकर्तामा राज लामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu