अनमोललाई लिएर ‘माइतीघर २’ बनाउँदै भुवन



निजी क्षेत्रको लगानीमा निर्माण भएको पहिलो चलचित्र ‘माइतीघर’ को नाम सापटी लिएर निर्माता भुवन केसीले चलचित्र बनाउने भएका छन् । दि सुपर काजोल फिल्मस्को ब्यानरले ‘माइतीघर २’ नाममा बनाउन लागेको चलचित्रमा अनमोल केसीले मुख्य भूमिका निर्वाह गर्नेछन् । चलचित्रको स्क्रिप्ट फाइनल भएर कलाकार छनोटको काम भइरहेको निर्माता केसीले जानकारी दिए ।

सुबोध चोपडाले निर्देशन गर्ने चलचित्रको नयाँ वर्षबाट छायांकन सुरु गर्ने तयारीमा निर्माण टिम छ । अहिले अनमोल चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन् । यसपछि उनी आफ्नै होम प्रोडक्सनको चलचित्र ‘पारस’ मा काम गर्ने तयारीमा थिए । तर, अब उनले यो चलचित्रभन्दा अगाडि ‘माइतीघर २’ गर्ने सम्भावना प्रवल देखिएको छ । उनलाई चलचित्रको स्क्रिप्ट र आफ्नो भूमिका निकै मन परेको बुझिएको छ ।

स्वर्गीय बि.एस.थापा निर्देशित चलचित्र ‘माइतीघर’ मा भारतीय अभिनेत्री माला सिन्हा र सिपी लोहनी मुख्य भूमिकामा थिए । प्रेमकथामा निर्माण भएको चलचित्रका गीतमा जयदेवले संगीत भरेका थिए । चलचित्रको ‘जुन माटोमा मेरो’ गीतलाई तत्कालिन राजा महेन्द्रले लेखेका थिए । वर्षौंसम्म रिलमा थन्किएको यो चलचित्रलाई चलचित्र विकास बोर्डले अहिले डिजिटलाइजेसन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu