अभिनेत्री रञ्जना शर्मा विवाह बन्धनमा बाँधिएकी छन् । बुधवार उनले प्रेमी निकेश सिलवालसँग अमेरिकामा विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा अमेरिकामा बसोबास गर्ने चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो । सेतो रंगको आकर्षक गाउनमा सजिएकी रञ्जनाले विवाहका तस्विर तथा भिडियोहरु फेसबुकको स्टोरीमा पोस्ट गरेकी छन् ।

होटेल म्यानेजमेन्ट अध्ययन गरेका निकेशसँग रञ्जना केही वर्षदेखि प्रेम सम्बन्धमा थिइन् । विवाहभन्दा अगाडि उनीहरु बाल्टिमोरमा एकसाथ बस्दै आएका थिए । रञ्जनाको यो दोस्रो विवाह हो । निर्देशक श्याम भट्टराईसँग विवाह गरेर उनी अमेरिका हानिएकी थिइन् । यसपछि उनीहरुको सम्बन्ध विग्रियो । रञ्जनासँग डिभोर्स भएपछि श्यामले पनि दोस्रो बिहे गरिसकेका छन् ।
नेपाल टेलिभिजनबाट प्रसारित उतिबेलाको चर्चित टेलिसिरियल ‘जानकी’ मार्फत रजतपटमा प्रवेश गरेकी रञ्जनालाई श्याम निर्देशित चलचित्र ‘मौसम’ ले चर्चामा ल्याएको थियो । ‘ध्रुवतारा, हे युवा’ लगायतका चलचित्रमा पनि काम गरेकी उनले अमेरिका पलायन भएपछि भने अभिनयलाई निरन्तरता दिएकी छैनन् । उनी अमेरिकामा अभिनेत्री अरुणीमा लम्सालसँग निकै नजिक छिन् ।




