चैत २७ का लागि चर्चामा रहेका तीन चलचित्र ‘लप्पन छप्पन २’, ‘कृष्ण लीला’ र ‘मनसँग मन’ ले कोरोनाका कारण रिलिज पोस्टपोन्ड गरेपछि शुक्रवारबाट दुई चलचित्र ‘श्री’ र ‘गुड फ्रेन्ड’ ले प्रदर्शन सुरु गरेका छन् । यी दुवै चलचित्र सानो बजेटमा निर्माण भएका हुन् । विना प्रचार-प्रसार प्रदर्शनमा उत्रिएका दुई चलचित्रले केही हदसम्म सिनेमा हलमा दर्शक तान्ने अपेक्षा गरिएको छ ।

एभरेष्ट सूर्य बोहोराको निर्देशन रहेको ‘श्री’ मा सन्दिप क्षेत्री, रविन्द्र झा, वर्षा सिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुसाल, भोलाराज सापकोटा, मोहनकृष्ण श्रेष्ठ, सविता गुरुङ लगायतको अभिनय छ । शेरबहादुर तामाङको छायांकन रहेको चलचित्र ओटीटी प्लेटफर्म ‘मोमो : म्यूजिक एन्ड मुभि, भिडियो पसल र सिनेमा घर ५५५’ मा पनि शुक्रवारबाट रिलिज भएको छ ।
त्यस्तै, राजबहादुर साने निर्देशित ‘गुड फ्रेन्ड’ मा मुकेश ढकाल, सबिना कार्की, राज सिंह, दीपक बिक्रम शाही, एलवी कटुवाल, राजन महर्जन, बसन्त बर्मा, पूजा महर्जन, धिरज खत्री, भूमिका सापकोटा लगायतको अभिनय रहेको छ । बसन्त बर्माको प्रस्तुति रहेको चलचित्रको निर्मातामा बसन्त बर्मा, राज सिंह र पम्फा बर्मा छन् । चलचित्रले साथी-साथीबीचको प्रेम बोल्ने बताइएको छ ।




