निर्देशक तथा कलाकार विशारद बस्नेतको २० वर्षको यात्रा गजबको रह्यो । सन् २००१ मा कलाकार बन्ने सपना बोकेर मुम्बई पुगेका उनले आफ्नो सपना पूरा गर्न कठोर संघर्ष गरे । मुम्बईमा उनले लामो समय दिनमा रोडमा किताब बेचेर साँझमा थिएटरमा काम गरेका थिए । करीब १० वर्षको संघर्षपछि उनले विभिन्न सिरियल र टेलिभिजनका विज्ञापनमा काम गर्ने अवसर पाए ।

२०१० मा ‘एक्टिङ स्कूल अफ इन्डिया’ को स्थापना गरेका उनी पिता विरामी भएपछि स्वदेश (नेपाल) फर्किए । नेपालमा रहँदा विभिन्न स्कूलमा अभिनय पढाएका उनले चलचित्र ‘मिस्टर भर्जिन’ र ‘न यता न उता’ को निर्देशन पनि गरेका छन् । अब उनी चलचित्र ‘लाल सलाम’ को तयारीमा छन् ।
उनै, विशारदलाई भारतको अलगिलानी फाउन्डेशनले तीन अवार्डबाट सम्मानित गरेको छ । फाउन्डेशनले उनलाई आनरेरी एक्सिलेन्स अवार्ड, ग्लोबल पीस अवार्ड, सर्टिफिकेशन फर हिज कन्ट्रिब्यूशन इन् सोशल वर्कबाट सम्मानित गरेको हो । उनी यो वर्ष दुईवटा आनरेरी डक्टरेटबाट पनि सम्मानित भएका छन् । अवार्डले काम गर्नका लागि प्रोत्साहन मिल्ने उनको भनाई छ ।








