विपिन भन्छन्, ‘अभिनय गर्न नपाएर आत्मा तिर्खाएको छ’



अभिनेता विपिन कार्की चलचित्र ‘सेफी किङ’ पछि पर्दामा देखिएका छैनन् । केही चलचित्र साइन गरे पनि छायांकनमा कुनै निस्किएका छैनन् । डेढ वर्षदेखि चलचित्रमा काम गर्न नपाउँदा उनलाई छट्पटी भइरहेको छ । अब चलचित्र ‘विवेक’ बाट अभिनयको तिर्खा मेटाउने उनको सोच छ । उनले गएको महिना मात्र यो चलचित्र साइन गरेका हुन् । चलचित्रलाई माधव वाग्लेले निर्देशन गर्दैछन् ।

जेठबाट छायांकन सुरु हुने चलचित्रमा विपिनको जोडीको रुपमा अभिनेत्री स्वस्तिमा खड्का हुनेछिन् । मधेशको कथा बोल्ने चलचित्रको छायांकन जनकपुर र विरगन्जमा हुनेछ । फिल्ममा मधेशी चरित्र निर्वाह गर्न लागेका कारण विपिन मधेशको रहनसहन नजिकबाट निहाल्न यतिबेला मधेश घुमघाममा छन् । केही दिनअघि विरगन्जमा चलचित्रको अडिसन समेत राखिएको थियो ।

‘विवेक’ को कथाले लोभ्याएर काम गर्न लागेको विपिनको कथन छ । उनी भन्छन्, ‘‘सेल्फी किङ’ रिलिजको दुई महिनामा कोरोनाका कारण देश लकडाउन भयो । यसपछि चलचित्रमा काम गरेको छैन । जसले गर्दा अभिनय गर्न नपाएर आत्मा तिर्खाएको छ । अब ‘विवेक’ बाट त्यो तिर्खा मेट्छु ।’’ चलचित्रको पात्रका लागि फरक समुदायमा भिज्न मिहिनेत गरिरहेको उनको भनाई छ ।

उनी ‘विवेक’ लाई मूलधारमै चलचित्र भन्न रुचाउँछन् । विपिन अगाडि भन्छन्, ‘यो नेपाली चलचित्र नै हो । आवश्यकता अनुसार मैथिली र भोजपुरी भाषा पनि प्रयोग गरिनेछ । राजधानीबाहेकलाई मोफसल भनेको मलाई मन पर्दैन । जनकपुर, विरगन्ज नेपालै हो । जुन ठाउँबाट चलचित्र बनाए पनि त्यो मूलघारकै हुन्छ ।’ प्रिन्सेस मुभिजको ब्यानरमा निर्माण हुने चलचित्र चार करोडको लगानीमा बन्नेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu